काठमाडौं ।
नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।
आज दिउँसो ३ बजेपछि राजधानीको एक होटेलमा बस्ने बैठकमा यसअघि नेपाल भारतबीच भएका सहमति र सम्झौताका विषयमा छलफल हुनेछ ।
बैठकमा राजनीतिक, सुरक्षा र सीमा, आर्थिक सहयोग र भौतिक पूर्वाधार, व्यापार–पारवहन, ऊर्जा–जलस्रोत, संस्कृति–शिक्षासहितका मुख्य एजेन्डामाथि छलफल हुने यसअघि नैे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताइसक्नु भएको छ ।
दुईदिने बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकरसहितको प्रतिनिधिमण्डल आज ११ बजेर ५५ मिनेटमा काठमाडौंमा आइपुग्ने कार्यक्रम रहेको छ ।
डुबान समस्या, भारतले प्रतिबद्धता जनाएर पूरा नभएका योजना र पञ्चेश्वरजस्ता थाती रहेका परियोजनाको निकासबारे नेपालले धारणा राख्नेछ ।
यसअघि चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा बसेको थियो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री जयशङ्करले संयुक्त अध्यक्षता गर्दै आयोगको बैठक शुभारम्भ गर्नुहुने मन्त्रालयले बताएको छ ।
बैठक सञ्चालका लागि ३५ सदस्यीय प्रतिनिधिमण्डल गठन गरी कार्यविभाजन गरिसकिएको छ ।
रेल्वे लाइन, जलमार्ग, पेट्रोल पम्प लाइन, हुलाकी सडक, चेकपोस्ट स्थापना, नयाँ जलविद्युत योजनालगायतका एक दर्जनभन्दा बढी नवीन विषयमा समझदारी र कार्यान्वयन प्रक्रिया अगाडि बढ्ने नेपाल सरकारको विश्वास छ ।
चासोमा एस जयशङ्कर
भारतीय विदेशमन्त्री नेपालमा रहनुहुँदा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ ।
नेपालमा नाकाबन्दी लगाउने योजनाकारका रुपमा भारतीय विदेशमन्त्री एस जयशङ्कर रहेको भन्दै उहाँ नेपाल आउनुलाई महत्वका साथ हेरिएको छ ।
भारतमा नरेन्द्र मोदीले प्रधानमन्त्रीको दोस्रो कार्यकाल सुरु गरेपछि नेपाल भ्रमणमा आउने उहाँ सबैभन्दा वरिष्ठ भारतीय नेता हुनुहुन्छ ।
तत्कालीन सरकार तथा प्रमुख प्रतिपक्षी दलले भारतीय आग्रहलाई ठाडै अस्वीकार गरेपछि रुष्ट बनेको दक्षिणी छिमेकीले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको र त्यसको मुख्य योजनाकारण एस जयशङ्कर रहेको धेरैको बुझाइ छ ।
प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६, ०८:१६