काठमाडौँ । नेपालमा सामुदायिक रेडियोको महत्व बढेको तर नयाँ प्रविधिलाई आत्मसात गर्नुपर्नेमा सरोकारवाला निकायका प्रतिनिधिले जोड दिएका छन् ।
सामुदायिक रेडियोहरूको छाता सङ्गठन, सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको २५ औँ वर्ष प्रवेशको अवसरमा सङ्घको सभाकक्ष ललितपुरमा आज आयोजित अन्तरक्रियामा सहभागीले रेडियो आवाजको क्षेत्र भएकाले कुनै पनि हालतमा यसको महत्व नघट्ने बताएका हुन् ।
कार्यक्रममा बीबीसीमा कार्यरत पत्रकार नवीनसिंह खड्काले रेडियो माध्यमका रूपमा बलियो सम्भावना भए पनि यसले दिने सामग्रीका आधारमा स्रोताले सुन्ने वा नसुन्ने निर्क्यौले गर्ने धारणा राख्नुभयो । उहाँले रेडियोले उत्पादन गर्ने सामग्री परिमार्जन गर्दै लैजानुपर्ने बताउनुभयो ।
बीबीसी मिडिया एक्सनका सम्पादक किरण भण्डारीले सामुदायिक रेडियोलाई आर्थिक रूपमा बलियो बनाउनेतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो ।
गैरसरकारी संस्था महासङ्घका कोषाध्यक्ष तथा रेडियो कर्णाली जुम्लाका गोविन्द शाहीले विकट क्षेत्रमा अझ धेरै रेडियोको भूमिका महत्वपूर्ण हुने धारणा राख्दै सरकारी तथा गैरसरकारी निकायले सामुदायिक रेडियोको दिगोपनाका लागि सहकार्यको हात फराकिलो बनाउनुपर्ने बताउनुभयो ।
गैरसरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराईले संविधान कार्यान्वयनको सवालमा पनि गैरसरकारी निकाय र रेडियोबीच सहकार्य भइरहेको उल्लेख गर्दै स्रोताको माग र आवश्यकतालाई बेवास्ता गर्न नहुने बताउनुभयो ।
रेडियोले आफ्ना सामग्रीलाई समय, परिस्थिति अनुसार परिमार्जन गर्न भने आवश्यक भएको उहाँको भनाइ छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालका पूर्व सचिव सुदर्शन खतिवडाले रेडियो सुन्नका लागि भएकाले यसको विकल्पमा अरु माध्यमले विस्थापन गर्न नसक्ने उल्लेख गर्दै सामुदायिक रेडियोको सामग्रीका बारेमा निर्मम भएर समीक्षा गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

अमार्क एसिया प्यासिफिकका कार्यकारी निर्देशक सुमन बस्नेतले सामुदायिक रेडियोमा नयाँ पुस्ताको आकर्षण बढाउन आवश्यक रहेकोमा जोड दिँदै इन्टरनेटको माध्यमबाट पनि रेडियो खुल्नेक्रम बढेको धारणा राख्नुभयो ।
लगानी भित्र्याउँदै सामुदायिक रेडियोलाई बुझ्ने तरिका नै परिवर्तन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
पीएमसी नेपालका देशिय निर्देशक राजन पराजुलीले विकट गाउँमा अझै पनि रेडियो सूचनाको प्रमुख माध्यम भएको बताउँदै रेडियोको टावर, खर्चिलो उपकरणविना पनि सामग्री उत्पादनका बारेमा सोच्ने बेला आएको छ भन्नुभयो ।
अकोराबका पूर्व अध्यक्ष सुवास खतिवडाले रेडियोले पहुँचमा नभएकाको आवज ल्याउनका लागि मेहन गर्नुपर्ने उल्लेख गर्दै समाजमा सहिष्णुता, सदभाव बढाउने खालका सामग्री उत्पादनमा पनि ख्याल राख्नुपर्ने बताउनुभयो ।

अकोराबका पूर्व अध्यक्ष मोहन चापागाईँले नेपालका सामुदायिक रेडियोको भूमिका बाढी, पहिरो, कोरोनालगायतका विपद्मा प्रभावकारी देखिएको बताउनुभयो ।
सुशासन प्रवर्धनका लागि तटस्थ भएर काम गर्ने हो भने अझैँ पनि सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले नयाँ प्रविधि र प्लेटफर्मलाई भने स्वीकार गर्नुपर्ने धारणा राख्नुभयो ।
अकोराबका पूर्व अध्यक्ष मीनबहादुर शाहीले अकोराबको स्थापना हुँदाका दिनको सम्झना गर्दै सुरुमा आफूहरुको अभियानलाई कतिपयले नपत्याएको उल्लेख गर्नुभयो ।
देशभरिका सामुदायिक रेडियोको आवश्यकताको मूल्याङ्कन गरी त्यसैअनुसारको सहयोगका लागि अकोराबको वर्तमान नेतृत्वले पहल थाल्नुपर्ने उहाँको भनाइ थियो ।
अकोराबद्वारा सञ्चालित सीआईएनले सदस्य रेडियोको लागि सीप विकासमा थुप्रै काम गर्न सक्ने पूर्व अध्यक्ष शाहीले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा अकोराबका कोषाध्यक्ष तुला अधिकारीले सूचना र जानकारी दिनका लागि सामुदायिक रेडियोको भूमिका बदल्ने बेला भएको बताउनुभयो । मोबाइल, इन्टरनेट, सामाजिक सञ्जालका विभिन्न स्वरुपमा पुग्ने गरी रेडियोको सामग्री उत्पादन गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।
अकोराबका अध्यक्ष अर्जुन गिरीले नेपालमा २०६२/६३ सालको जनआन्दोलनपछि रेडियोको सङ्ख्या बढेको भए पनि सन् २०१८ पछि भने सङ्ख्या घटेको बताउनुभयो ।

आमसञ्चार ऐन् परिमार्जन, नवीकरण शुल्कमा छुट, विद्युत महशुलमा छुट, रेडियो स्थापनका लागि उपकरण सहयोग गर्दै आएको उल्लेख गर्दै अहिले रेडियोहरूमा देखिएको आर्थिक, जनशक्तिलगायतको सङ्कट टार्न अकोराबले विभिन्न कोणबाट छलफल चलाइरहेको बताउनुभयो । आगामी दिनमा पनि सामुदायिक रेडियोको हितका लागि लड्न आफूहरू तयार रहेको उहाँको भनाइ थियो ।
अन्तरक्रियामा विभिन्न धर्मका धर्म गुरुहरूले साम्प्रदाकिय सद्भाव कायम राख्नका लागि पनि सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको औँल्याउँदै हानिकारक परम्पराको अन्त्यका लागि सबै धर्मका धर्म गुरुहरू सामुदायिक रेडियोसँग सहकार्य गर्न तयार रहेको बताए ।
अन्तरक्रियामा इस्लामी सङ्घ नेपालका अध्यक्ष मौलना नजरुल हुसेन, निरन नेपालका संस्थापक केशवप्रसाद चौँलागाई, इसाई धर्मका पास्टर इसुजङ्ग कार्की, बौद्ध धर्मका गुरुमा अरिया नयानी डकिला र किरात धर्मका गुरु तिर्थ राईले आआफ्नो धारणा राखेका थिए ।
प्रकाशित मिति: शनिबार, चैत ९, २०८१