पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका महिला आत्मनिर्भर बन्नका लागि स्रोत र सीपको खोजी गर्न थालेका छन् ।
विभिन्न तालिममा सहभागी भएर सीप सिकेसँगै आफूसँगै अरूलाई पनि रोजगारी सिर्जना गर्न उनीहरू लागिपरेका हुन् ।
बगनासकालि गाउँपालिका २ र ३ का महिला परालको चप्पल बनाएर राम्रो आम्दानी लिन थालेका हुन् ।
पाल्पाको बगनासकाली गाउँपालिका–२ पोखराथोकका कल्पना विकले परालको चप्पल बनाएर बिक्री गर्न लागेको ३ वर्ष भयो ।
अहिले उहाँले दैनिक तीनचार जोर चप्पल बनाउनुहुन्छ । पहिले बिक्री गर्न निकै समस्या भए पनि हिजोआज माग धेरै हुँदा भ्याइनभ्याइ भएको बताउनुहुन्छ ।
महिनामा २० हजारदेखि २५ हजारसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ । बगनासकाली गाउँपालिका–३ की लक्ष्मी कुवँरले पनि तालिमबाट चप्पल बनाउन सिकेपछी राम्रो आम्दानी लिँदै आउनुभएको छ ।
राधिका गहतराजले पनि परालको चप्पल बनाएर राम्रो कमाइ गरेको बताउनुभयो ।
सात दिनको तालिमबाट चप्पल बनाउने सीप सिकेपछि परालको काँटछाँट गरी मोटा र मसिना डोरा बुनेर चप्पल बनाउन राधिकालाई पनि भ्याइनभ्याइ छ ।
परालबाट बनाइएको चप्पलको माग बढ्दै गएपछि स्थानीय सरकराले महिलाहरुलाई स्वरोजगार बनाउन तालिमको व्यवस्था गरिएको बगनासकाली गाउँपालिकाका प्रमुख सरस्वती चिदीको भनाइ छ ।
सय रुपैयाँदेखि एक सय पचाससम्म मुल्य पर्ने परालको चप्पल विशेष गरी क्रिया पुत्रीका लागि खरिद गर्ने गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१