सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १ फुस्रेका ५२ वर्षीय चन शेर्पा उज्यालो नहुँदै गह्रौं भारी बोकेर चौतारा आई पुग्नुहुन्छ ।
उहाँ चौतारा बजारसम्म आईपुग्न चारघण्टाको पैदल हिंडेर आउनुपर्छ । आफू समेत परिवारका तीन सदस्यले डोकोमा बोकेको तीनभारी गान्टे मुला बजार पुग्न नपाउँदै क्षणभरमै सकिन्छ ।
गान्टेमुला बिक्री गर्न चनलाई धेरै समय कुर्नु पर्दैन । एकैछिनमा ग्राहकको भिड लाग्छ । प्रति मुठा ४० रुपैंयामा बिक्री गरेर तीनभारीको ७ हजार कम्मरको थैलीमा बाँधेर सबेरै घर फर्कनुहुन्छ उहाँ । चनको दैनिकी नै हो, यो ।
ओख्रेनीको गान्टे मुला धेरैले मन पराएका छन् । समुन्द्र सतहदेखि झण्डै तीनहजार उचाईमा रहेको सदरमुकाम नजिकको ओख्रेनी, फुस्रे र सिंर्धुचे निकै चिसो ठाउँ हो ।
गान्टेमुला बिक्री गर्न चनलाई धेरै समय कुर्नु पर्दैन । एकैछिनमा ग्राहकको भिड लाग्छ ।
चिसो ठाउँमा उत्पादित मुला निकै स्वादिष्ट भएकाले तरकारी र सलादको लागि बढी बिक्री हुने गरेको व्यवसायी शेर्पाले बताउनुुभयो । शेर्पाले यो व्यवसाय गरेको तीन दशक भईसक्यो । उहाँले एक रोपनी जग्गामा गान्टेमुला लगाउनुभएको छ ।
गान्टेमुला बिक्री गरेर एक सिजनमा ५० हजार भन्दा माथि आम्दानी हुने शेर्पा बताउनुहुन्छ । अर्गानिक उत्पादन गान्टेमुलाका लागि धेरै लगानी गर्नु नपरेको भन्दै उहाँले थोरै क्षेत्र र थोरै लगानीमै उत्पादन गर्न सकिने बताउनुभयो ।
गान्टेमुला मात्रै नभइ आफूले आलु खेति समेत गरेको र आलुमा समेत निकै फाइदा भएको उहाँको भनाइ छ । गान्टेमुला तथा आलुमा गाईबस्तुको मल बाहेक रासायनिक मलको प्रयोग नगरिने चन बताउनुहुन्छ ।
‘पहिला पहिला चामलसँग मुला र आलु साट्न घर घरमै मान्छे आउँथे । अहिले आफैं बेच्न आउने गरेको छु ।’ चनले भन्नुभयो ।
गान्टेमुला बिक्री गरेर एक सिजनमा ५० हजार भन्दा माथि आम्दानी हुने शेर्पा बताउनुहुन्छ ।
उहाँका अनुसार निकै चिसो हुने लेकमा उत्पादन कम हुनाले अन्नसँग साट्ने प्रचलन थियो । तर पछिल्लो पटक खाद्यान्न गाउँमै पुग्न थालेपछि नगदमै कारोबार गर्न थालेका छन्, शेर्पा समुदायले ।
ओख्रेनी, खस्रे, फुस्रे लगाएतका स्थानमा सडकको नयाँ ट्र्याक खोलिएपनि बर्षातका कारण यातायात सूचारु नहुँदा पैदलै हिड्नुपर्ने बाध्यता छ, शेर्पा समुदायलाई ।
उपभोक्ताले निकै रुचाएको लेकाली आलु र गान्टे मुलाको बजारिकरण र व्यावसायिक खेतिका लागि नगरपालिकाले योजना समेत बनाएको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिंह तामाङले बताउनुभयो ।
जिल्लामा आईपुग्ने निउरो समेत हिजोआज धेरै उपभोक्ताले रुचाएका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६, ०७:२५