काठमाडौँ । नागरिक समाजका अगुवाहरूले अराजकता र हिंसा रोक्न माग गर्दै काठमाडौँको माइतिघरमा धर्ना दिएका छन् ।
लोकतन्त्र, मानव अधिकार र शान्तिको पक्षमा आवाज उठाउँदै उनीहरूले धर्नामार्फत अराजकता र हिंसा निरुत्साहन गर्न माग गरे । गणतन्त्रको विकल्प नभएको तर गणतन्त्रलाई संस्थागत गरेर लैजानुपर्नेमा उनीहरूको जोड छ ।
यसका लागि ‘गणतन्त्रको जग बलियो बनाऔं’, ‘अराजकता नियन्त्रण गर’, ‘आर्थिक अनियमितता र कालोबजारी रोक’, ‘समानता, न्याय र समावेशिता सुनिश्चित गर’ ‘लोकतन्त्रको रक्षा गर’, ‘नागरिक अधिकारको सुरक्षा गर’, ‘निहित सत्ता स्वार्थको द्वन्द्व अन्त्य गर’, ‘मिडियामाथिको हमला बन्द गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘जनताको सुरक्षामा सम्झौता नगर’ जस्ता प्लेकार्ड र नारासहित ०६२/६३ को नागरिक आन्दोलनको अगुवाई गरेका नागरिक अगुवा भेला भएका हुन् ।
उनीहरुले २०४६ को जनआन्दोलन र २०६२।६३ को नागरिक आन्दोलनको स्मरण गराउँदै लोकतन्त्र र गणतन्त्र बचाउन जस्तोसुकै नागरिक आन्दोलन गर्न पछि नपर्ने उद्घोष गरेका छन् ।
धर्ना कार्यक्रममा बोल्दै गत चैत्र १५ गते काठमाण्डौँको तीनकुनेमा भएको हत्या, हिंसा, लुटपाट, आगजनी जस्ता अमानवीय कार्य अराजक झुण्डवाट भएको र यसको जिम्मेवारी पूर्व राजा ज्ञानेन्द्र शाहले लिनुपर्ने नागरिक अधिकारकर्मीले माग गरेका छन् । गैरसरकारी संस्था महासङ्घ नेपालका अध्यक्ष तथा वृहत् नागरिक धर्ना अभियानका संयोजक अर्जुन भट्टराईले नेपाली जनतालाई जागृत र सशक्त भएर लोकतन्त्र अनि गणतन्त्रको पक्षमा उभिन आग्रह गर्नुभयो ।
समाचार सङ्कलन गर्ने पत्रकारलाई थुन्ने, आगो लगाउने कार्य दण्डहिनाताको पराकाष्टा हो भन्दै उक्त घटनाक दोषीलाई सजायको माग पनि अध्यक्ष भट्टराईले गर्नुभयो ।
मानवअधिकारकर्मी तथा गैसस महासङ्घ नेपालका पूर्व अध्यक्ष गौरी प्रधानले मानव अधिकार हननका गतिविधिको निन्दा गर्दै लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने बताउनुभयो ।
मानवअधिकारकर्मी चरण प्रसाई, सुवोध प्याकुरेल, सुशील प्याकुरेल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद वागचन्द, एटविनका वेनु माया गुरुङ्ग, महिला मानवअधिकार रक्षकका श्याम कुमारी शाह, युवा अभियान्ता नरेन्द्र खतिवडा, काहुराष्टका अध्यक्ष हुकुम पोखरेल, सामाजिक अभियान्ता सुशील वि.क. लगायतका अगुवाहरुले आआफ्ना विचार राख्दै लोकतन्त्र बलियो बनाउन आह्वान गरेका छन् ।
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१