काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुर प्रस्थान गर्नुभएको छ ।
दिउँसो साढे एक बजे थाई एयरको उडानबाट धर्मपत्नी राधिका शाक्यलगायतका सहयोगी, निजी चिकित्सक र सुरक्षाकर्मीका साथ प्रधानमन्त्री सिङ्गापुरका लागि प्रस्थान गर्नुभएको हो ।
गत साउन १८ गतेदेखि २७ गतेसम्म सिङ्गापुरको नेश्नल युनिभर्सिटी अस्पताल (एसएनयू) मा उहाँको स्वास्थ्य परीक्षण गरिएको थियो ।
प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा.दिव्या सिंहले एक विज्ञप्ती जारी गरेर जनाए अनुसार अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको थियो ।
“एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उहाँ फेरि त्यसतर्फ जान लाग्नु भएको हो । ” डा.सिंहले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
सिङ्गापुरमा रहँदा नेश्नल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरूको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचारसमेत गर्ने विज्ञप्तीमा जनाइएको छ ।
सिङ्गापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्यअवस्थाको बारेमा सञ्चारमाध्यमलाई जानकारी गराउने डा.सिंहले बताउनु भएको छ । चिकित्सकको सल्लाहबमोजिम प्रधानमन्त्री ओली स्वदेश फर्कने मिति तय गरिनेछ जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६, १४:१७