सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका मनोसामाजिक स्वास्थ्य समस्या भएकाहरूले आफूहरूको स्वास्थ्य परीक्षण र औषधि सेवनमा पालिकाले थप समन्वय गरिदिनुपर्ने माग गरेका छन् ।
पहिलेपहिले स्वास्थ्य जाँच र औषधिका लागि बनेपा वा काठमाडौँमा पुग्नुपर्ने अवस्था रहे पनि हिजोआज चौतारामै जाँच गर्न पाएकोमा भने उनीहरूले खुसी व्यक्त गरे ।
चौतारा साँगाचोकगढी नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा जल्केनी स्वास्थ्य चौकीमा भएको अभिमुखीकरणमा सहभागीहरूले पालिकाले घरघरमा मनोपरामर्श सेवा दिन थालेपछि सजिलो भएको अनुभव सुनाए ।
मनोसामाजिक समस्या भएका व्यक्ति, परिवारका सदस्य, स्वास्थ्य संस्थाका प्रतिनिधिलगायत सरोकारवालाहरूबीचको अभिमुखीकरण कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका उपमेयर सीता थापाले मानसिक स्वास्थ्य समस्यामा भएकाहरूको मागका आधारमा के कति औषधि गाउँघरमै दिन सकिन्छ भन्ने बारेमा आफूहरूले छलफल गरिरहेको बताउनुभयो ।
प्रदेश सरकारको समन्वय चौतारामै मानसिक स्वास्थ्य समस्या पहिचान र औषधोपचारका लागि पालिकाले पनि संयोजन गरिरहेको भन्दै समस्या नलुकाउन आग्रह गर्दै भन्नुभयो, ‘तीन वर्षअघि म निर्वाचित भएर आउँदा गाउँघरमा देखिएको मनोसामाजिक स्वास्थ्य समस्या समाधानका लागि निरन्तर पहल गरिरहेको छु । त्यसमा सिङ्गो पालिका पनि सकारात्मक छ । आगामी दिनमा के कस्तो सुविधा थप गर्न सकिन्छ भन्ने बारेमा पनि कुराकानी भइरहेको छ ।’
कार्यक्रममा सहभागीहरूले आफूहरूलाई हेर्ने समाजको दृष्टिकोण सकारात्मक हुन नसकेको गुनासो गर्दै यसबारेमा चेतना जगाउने यस्ता कार्यक्रम बेलाबेलामा चलाइरहन सुझाव पनि दिएका छन् ।
नगरपालिकाको वडा नम्बर ९ देखि १४ का करिब ६० जनाको अभिमुखीकरण कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा नगरपालिकाका मनोपरामर्शदाताद्वय सीता श्रेष्ठ र रजनी शर्माले मानसिक स्वास्थ्य समस्याका कारण, समाधानका उपाय, तनाव व्यवस्थापनलगायतका बारेमा सहभागीको विचार तथा अनुभव आदानप्रदान गर्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१