गोरखा । ऐतिहासिक सम्पदा तथा घटनाक्रमको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ तेस्रो गोरखा-जितगढी पदयात्रा सुरु गरिएको छ ।
पश्चिम पृतनापति उपरथी मधुकर सिंह कार्की र गोरखा नगरपालिकाका प्रमुख श्री कृष्णबहादुर राना मगरले टर्च तथा झण्डा हस्तान्तरण गरी हिजो पदयात्रा शुभारम्भ गर्नु भएको हो ।
पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका ५ (पाँच) कम्पनीहरू (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख तथा सबुज) तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित गोरखा जिल्लामा रहेको रिपुमर्दन गणबाट ऐतिहासिक पोशाक तथा परम्परागत बाजागाजासहितको टोली सहभागी छन्।
करिब २ सय ७ किलोमिटर दुरीमा सञ्चालन हुने पदयात्रा गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीको बुटवलस्थित जितगढीसम्म पुगेर आगामी २०८२ वैशाख ७ गते विजयोत्सव समारोहका साथ समापन हुने नेपाली सेनाले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१