काठमाडौँ । सूचना प्रविधिको दूरुपयोगबाट वैदेशिक रोजगारीमा ठगी र अपराध बढेको भन्दै सरोकारवाला निकायका प्रतिनिधिले यसमा सरकारको अग्रसरतामा साक्षरता अभियान चलाउनुपर्ने सुझाव दिएका छन् ।
रोयल होलोवे विश्वविद्यालयको सहयोग र आईसीटीपोडी युकेसँगको सहकार्यमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले आज ललितपुरमा आयोजना गरेको ‘सुरक्षित आप्राबासनको लागि डिजिटल टेक्नोलोजीको प्रयोग सम्बन्धी सूचना तथा जानकारीका लागि सरोकारवालाबीच छलफल’ कार्यक्रममा सहभागीले यस्तो सुझाव दिएका हुन् ।
डिजिटल राईट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलले प्रस्तुति राख्दै वैदेशिक रोजगारी, तलव सुविधालगायतका बारेमा गलत सूचना दिनका लागि कृत्रिम बौद्धिक प्रविधिको उपयोग हुने गरेका घटना सार्वजनिक भइरहेको भन्दै सरकारले यसमा विशेष योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
रोजगारीको खोजीमा रहेका व्यक्तिको विववरणको दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जालमार्फत मोलमोलाइ गर्ने, अनैतिक कार्यमा संलग्न हुन बाध्य पार्ने प्रवृत्ति बढेको उहाँको भनाइ छ ।
‘रोजगारी दिलाइ दिने भन्दै कतिपय म्यानवार कम्पनी र व्यक्तिले पासपोर्ट, मोबाइललगायतका कागजात र उपकरण जफत गर्ने गरेको पाइएको छ । रोजगारदाता कम्पनीबाट नै आएको जसरी विभिन्न लिङ्क पठाउने गरिएको छ । रेमिट्यान्स एप भन्दै गलत एप वा वेबसाइट बनाएर व्यक्तिगत सूचना र जानकारी लिने गरिएको छ ।’ सिग्देलले भन्नुभयो, ‘नक्कली वेबसाइट, नक्कली सामाजिक सञ्जालका खाता बनाउनेक्रम बढेको छ । यसतर्फ सरकारको ध्यान जानुपर्छ भने स्वयं व्यक्ति पनि सचेत हुनुपर्छ ।’
डिजिटल माध्यमबाट हुने ठगीबाट बच्नका लागि विश्सनीय एप मात्रै प्रयोग गर्ने वा डाउनलोड गर्ने, संवेदनशील सूचना नदिने, आफूसँग भएका ल्यापटप, मोबाइललगायतका उपकरणहरु अपडेट गरिरहने, अनलाइन कारोबारका लागि सार्वजनिक वाइफाइको प्रयोग गर्न नहुने सुझाव उहाँको छ ।
छलफल कार्यक्रममा औरा एडका प्रमुख आयुस प्रधानाङ्गले वैदेशिक रोजगारीमा धेरै ध्यान पुगे पनि यो कसरी सुरक्षित र असुरक्षित हुन्छ र के कस्तो सावधानी अपनाउनुपर्छ भन्ने बारेमा पर्याप्त जानकारी नभएको बताउनुभयो ।
श्रम मन्त्रालय, मातहतका निकायले वैदेशिक रोजगारीमा जानुअघि गर्ने अभिमुखीकरणदेखि कागजात, तथ्याङ्कको व्यवस्थापनको समयमा नै पर्याप्त सूचना दिनुपर्ने उहाँको भनाइ छ ।
डिजिटल ठगीका कारण निरक्षर नागरिक सबैभन्दा समस्यामा परेको उल्लेख गर्दै प्रधानाङ्गले स्थानीय सरकार र सरोकारवाला निकायले पनि सरकारले चाल्ने सकारात्मक कदममा साथ दिनुपर्ने धारणा राख्नुभयो ।
वैदेशिक रोजगार बोर्ड अन्तर्गतको राष्ट्रिय आप्रवासी स्रोत केन्द्रका अधिकृत अन्जली श्रेष्ठले वैदेशिक रोजगारीमा जान चाहानेलाई स्थानीयस्तरबाटै सम्बन्धित व्यक्ति र उनीहरूका परिवारका सदस्य तथा आफन्तलाई सचेत गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
डिजिटल माध्यमबाट हुने ठगी रोक्नका लागि रोजगार सेवा केन्द्रलाई पनि परिचालन गर्न सकिने भन्दै उहाँले जिल्ला प्रशासन कार्यालय, आप्रवासी स्रोत केन्द्रलाई उपयोग गरेर ७७ जिल्लामा नै सचेतना अभियान चलाउनुपर्ने विचार राख्नुभयो ।
सुरक्षित आप्रावासनका लागि राष्ट्रिय सञ्जालका संयोजक श्वर्णकुमार झाले डिजिटल माध्यमबाट हुने ठगी नियन्त्रणका लागि जनचेतना जगाउन स्थानीय भाषाभाषीमा सामग्री तयार गर्नुपर्ने सुझाव दिनुभयो ।
आयोनका वरिष्ठ उपाध्यक्ष गौतमराज शर्माले भने वैदेशिक रोजगारीमा जानेहरूलाई भीसा दिने बेलामा नै कुन मुलुकमा जान लागेको, त्यहाँको नीति, नियमका बारेमा जानकारी दिनुपर्ने बताउनुभयो ।
फेसबुकलगायतका सामाजिक सञ्जालको कार्यालय नेपालमा खोल्न बाध्य पारिनुपर्ने र त्यसो भएमा कुनै गलत गतिविधि भएमा पनि तत्काल रोक्न वा हटाउन सकिन्छ भन्नुभयो ।
पौरखी नेपालका संस्थापक तथा वैदेशिक रोजगार बोर्डका सदस्य मन्जु गुरुङले कोशी प्रदेशबाट सरकाले वैदेशिक रोजगारीमा जाने र लैजानेका बारेमा तथ्याङ्क राख्न गरेको अभ्यास प्रभावकारी देखिएको र त्यसलाई वैदेशिक रोजगारीका लागि पनि उपयोग गर्न सकिने धारणा राख्नुभाये ।
वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीले डिजिटल साक्षरताका लागि सरकार मातहतका निकायले समयसापेक्ष नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।
वैदेशिक रोजगारीमा युवाको आकर्षण देखिए पनि उनीहरूनै ठगिमा पर्ने गरेको बताउनुभाये । आज भएको छलफल र सुझावका आधारमा आगामी योजना बनाएर अघि बढ्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी हुमनाथ पराजुलीले आज भएको छलफलबाट आफूले पनि धेरै नयाँ कुराको जानकारी पाएको र यसैका आधारमा आगामी रणनीति बनाउने प्रतिबद्धता जनाउनुभयो ।
डिजिटल प्लेटफर्मलाई कसरी नियमन गर्ने भन्ने बारेमा पनि सरकारले उचित निर्णय लिनुपर्नेमा जोड दिँदै उहााले वैदेशिक रोजगारीमा डिजिटल प्रविधिले ल्याएको चुनौतीको सामना गर्ने उपायका बारेमा सूचना अधिकारीहरूको छलफलमा पनि कुरा उठहाउने धारणा राख्नुभयो ।
वैदेशिक रोजगारीमा जानुअघि सञ्चालन गरिने अभिमुखीकरणका लागि पाठ्यक्रम परिमार्जनको छलफल चलिरहेको जानकारी दिँदै उपसचिव पराजुलीले आज आएका उपयुक्त सुझाव समावेश गरिने बताउनुभयो । डिजिटल माध्यमबाट हुने ठगी नियन्त्रणका लागि आगामी दिनमा पनि सहकार्य गर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा अकोराबका कोषाध्यक्ष तुला अधिकारीले पछिल्लो समयमा विभिन्न सार्वजनिक स्थानमा बनाइएका डिजिटल होर्डिङ बोर्ड नै ह्याक गरेर गलत सूचना प्रवाह भएको स्मरण गराउँदै छिटोछरितो र कम खर्चिलोसँगै दुरुपयोग पनि बढेकाले सरोकारवाला सचेत हुनुपर्ने बताउनुभयो ।
वैदेशिक रोजगारीमा हुने ठगीमा डिजिटल माध्यम र सामग्रीको उपयोग हुन नदिनका लागि थोरै स्रोतबाट भए पनि प्रभावकारी छलफल चलाउन सकिन्छ भनेर अकोराबले सरोकारवालाका बीचमा छलफल गर्ने र आएका सुझाव कार्यान्वयनका लागि संयोजनकारी भूमिका खेल्ने उहाँको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१