सर्लाही । देशका विभिन्न स्थानमा आयोजना हुने धार्मिक कार्यक्रममा दलित समुदायलाई रोक लगाइएको र दुुर्व्यवहार भएका घटना बाहिरिने गरेको छ ।
मधेश प्रदेशको सिरहा जिल्लामा महायज्ञ आयोजना गर्न दलितको घर नै भत्काइयो । तर त्यही प्रदेशको सर्लाहीमा भने दलित र गैरदलित समुदाय मिलेर १० दिनसम्म महायज्ञ आयोजना गरेका छन् ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बबरगञ्ज पर्ती बजारमा दलित र गैरदलित मिलेर महायज्ञ चलाएका हुन् ।
यो महायज्ञ चैत २० देखि ३० सम्म चलेको आयोजकको भनाइ छ । महाज्ञयज्ञमा दलित समुदायलाई पूजापाठलगायत कुनै पनि कार्यमा अवरोध नगरिएको महायज्ञ आयोजक समितिका अध्यक्ष मनोज पासवानले जानकारी दिनुभयो ।
स्थानीयबासीको सल्लाह र सहमतिमा महायज्ञ आयोजक समितिको अध्यक्ष दलित समुदायबाटै पासवानलाई बनाइएको थियो ।
जुनसुकै जातजातिलाई प्रवेश तथा पूजापाठका लागि खुला गरिएको उहाँको भनाइ छ । महायज्ञमा मुसहर समुदायका व्यक्तिले होम हाल्ने काम गरे ।

महायज्ञ गर्न पर्ती बजारका स्थानीयले १० जना दलित र पाँच जना गैरदलित समावेश गरेर समिति बनाएका थिए । पर्ती बजारमा अहिलेसम्म पाँचपटक यसैगरी गाउँका दलित र गैरदलित मिलेर महायज्ञ लगाइसकेका छन् ।
यज्ञमा रामयण पाठ गरिरहनुुभएका मिश्रीलाल साह तेली यज्ञमा ठूलो, सानो जाति भन्ने मानसिकता कसैले नराखेको बताउनुुहुन्छ ।
गाउँपालिकाका जनप्रतिनिधि, पार्टीका प्रतिनिधि पनि यो अभ्यासबाट खुसी छन् ।
चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो दलितकै अगुवाईमा गैरदलित समाहित भएर यज्ञ आयोजना गरिरहँदा समाजमा सकारात्मक सन्देश गएको बताउनुहुन्छ ।
जातीय विभेद कानुनी रुपमा दण्डनीय र सामाजिक रुपमा असोभनीय हो । विभेद गर्नेलाई कारबाहीका लागि कानुन पनि बनेको छ ।
तर प्रभावकारी कार्यान्वयन नभएको बेलामा सर्लाहीको बबरगन्जमा भएको दलित र गैरदलित मिलेर लगाइएको महायज्ञले विभेदरहीत तरिकाले धार्मिक तथा सामाजिक काम गर्न सकिन्छ भन्ने उदाहरण दिएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१