पाल्पा । विद्यालय बन्द गरेर ३ हप्तादेखि शिक्षकहरु काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेका बेला पाल्पामा भने विद्यालय खोल्न माग गर्दै अभिभावकहरु आन्दोलन उत्रेका छन् ।
विद्यालय बन्द हुँदा विद्यार्थीहरुको भविष्य नै अन्धकार हुने भन्दै जिल्लाको माथागढी गाउँपालिका – १ चिदीपानीस्थित ज्ञानोदय आधारभूत विद्यालयका अभिभावकहरुले सोमबार विद्यालयमै पुगेर विद्यालय व्यवस्थापन समितिलाई विद्यालय खोल्न दवाब दिएका हुन् ।
उनीहरुले विद्यार्थीहरुको भविष्य सुनिश्चित गर, निरन्तर विद्यालय सञ्चालन गर, अभिभावक एकता जिन्दावाद, सक्छौ भने निजी विद्यालय बन्द गर भन्दै नारा पनि लगाएका छन् ।
शिक्षकहरुका कारण विद्यार्थीहरुको भविष्य विग्रिने पिर आफूहरुलाई रहेकाले अभिभावकहरु एक जुट भएर आन्दोलनमा उत्रिएको उनीहरुको भनाइ छ ।
आन्दोलनपछि आजदेखि नै विद्यालयमा पठनपाठन सुरु भएको छ । विद्यार्थीहरुप्रति व्यवस्थापन समिति उत्तिकै चिन्तित रहेको र अभिभावकले समेत विद्यालय खोल्न दवाब दिएपछि आजदेखि नियमित रुपमा पठनपाठ सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो ।
उहाँले भन्नुभयो “हामीले सोमबार नै अभिभावक, विद्यार्थी र शिक्षकहरु बोलाएर विद्यालय खोल्ने नखोल्ने विषयमा छलफल गरेका थियौँ । खोल्ने विषयमा निर्णय भइसकेको थिएन तर आज विहानै अभिभावक विद्यार्थीसहित आएर विद्यालय खोल्ने भए खोल्नु नत्र हामी बोर्डिङ स्कूलमा लैजान्छौँ, विद्यालय खोल्नुहोस् हामी तपाईहरुकै साथमा छौँ भन्दै आन्दोलन गरेपछि हामीले विद्यालय खोल्ने निर्णय गरेका हौँ ।”
अभिभावकहरु ताराबहादुर विश्वकर्मा, लिला कुमारी विक, सुनिता विक लगायतले शिक्षकहरुको आन्दोलनले आफ्ना बच्चाहरुको पठाइ विग्रीएकाले शान्तिपूर्ण आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।
वडा भित्रका अन्य विद्यालयहरुमा पनि पठन–पाठन सुरु भएको वडा अध्यक्ष समेत रहेका पन्थीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२