कौरव खत्री, रेडियो पुष्पाञ्जली, गुल्मी
बागलुङको गलकोट नगरपालिकामा रहेको नगर अस्पताललाई गलकोट समाज युकेले फिजियोथेरापी मेसिन उपलब्ध गराएको छ ।
समाजले संस्थामा आबद्ध साधारण सदस्य र विभिन्न सहयोगी दाताहरुसँग आर्थिक सहयोग सङ्कलन गरी मेसिनहरु अस्पताललाई हस्तान्तरण गरेको हो ।
समाजका संस्थापक सचिव डा. पुष्पदत्त उप्रेतीले झण्डै ८० जना व्यक्तिहरुबाट सङ्कलित ७ लाख रकमबाट मेसिन खरिद गरी हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
गलकोटमै फिजियोथेरापी सेवा सञ्चालन गर्नका लागि गलकोट समाज युके, नगर अस्पताल र गलकोट नगरपालिकाबीच त्रिपक्षिय सम्झौता समेत गरिएको छ ।
गलकोट समाज युकेले उपलब्ध गराएको मेसिन सञ्चालनका लागि अस्पतालले ठाउँ उपलब्ध गराउने र गलकोट नगरपालिकाले १ जना फिजियोथेरापिस्ट र १ जना सहयोगीसहित २ जना जनशक्तिको व्यवस्थापन गर्ने सम्झौता भएको हो ।
आगामी जेठको पहिलो हप्तादेखि नै अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालन हुने गलकोट नगर अस्पतालका प्रमुख डाक्टर राजेश पौडेलले जानकारी दिनुभयो ।
यस अगाडी यही सेवा लिन बुटबल, पोखरा, काठमाण्डौसम्म जानुपर्ने स्थानीयको बाध्यताकाबीच गलकोटमै यो सेवा सुरु भएकाले सेवाको भरपुर उपयोग गर्न उहाँले आग्रहसमेत गर्नुभयो ।
गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले फिजियोथेरापी सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति नगरपालिकाले व्यवस्थापन गर्ने बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२