काठमाडौँ । गुणस्तरीय शिक्षाको लागि काठमाण्डौँ प्रतिवद्धता र सिफारिस पत्र जारी गर्दै दोस्रो अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन २०७६ सम्पन्न भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बङ्गला फाउण्डेशनको संयुक्त आयोजनामा भदौ ७ गतेदेखि ललितपुरमा सुरु भएको सम्मेलन आज सकिएको हो ।
सम्मेलनले गुणस्तरीय शिक्षाका लागि सरकारले गर्नुपर्ने र शिक्षकहरूले पूरा गर्नुपर्ने जिम्मेवारी सिफारिस गरेको छ । समापन कार्यक्रममा पूर्व सचिव महाश्रम शर्माले गुणस्तर सुधारका लागि प्रतिवद्धता र सिफारिस पत्र सार्वजनिक गर्नुभयो ।
उहाँले तीन दिने सम्मेलनबाट ठूलो भवनले मात्र विद्यालयको शैक्षिक सुधार नहुने, पाठ्यपुस्तक लगायतका अन्य आधारभूत कुरा विद्यालयमा पुग्नुपर्ने, विद्यार्थीको सिकाई केन्द्रित पाठ्यक्रम हुनुपर्ने, सार्वजनिक विद्यालयको रुपान्तरणको लागि सरकारले पहल गर्नुपर्ने, स्थानीय तहहरूले सामुदायिक विद्यालयको जिम्मेवारी लिनुपर्ने लगायतका निष्कर्ष निस्किएको बताउनुभयो ।
रातो बङ्गला फाउण्डेशनका अध्यक्ष डाक्टर शान्ता दीक्षितले सम्मेलन सफल बनाउनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिदै अबको दुई वर्षको अन्तरालमा सातै प्रदेशमा गुणस्तरीय शिक्षाको विषयमा कार्यक्रम गर्ने लक्ष्य रहेको सुनाउनुभयो ।
पूर्व सचिव शर्माले भन्नुभयो, ‘सम्मेलनले प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्ने, शिक्षाको लगानीको सदुपयोग गर्न र शिक्षक व्यवस्थापनमा ध्यान दिनुपर्ने जोड दिएको छ । अहिलेसम्म देखिएको समस्या पनि यही हो ।’
प्रतिनिधी सभाको शिक्षा र स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले समापन कार्यक्रमको सम्बोधन गर्दै गुणस्तरीय शिक्षाको लागि विशेष जोड दिएकोमा खुसी व्यक्त गर्नुभयो । नेपालको शिक्षा सुधार हुनेमा आफू आशावादी रहेको उल्लेख गर्दै सरकारसँग मिलेर गुणस्तरीय शिक्षाको विषयमा गरेको बहस र निष्कर्षलाई आफूले सकारात्मक रूपमा लिएको उहाँको भनाइ छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश दाहालले पूर्व प्राथमिक शिक्षामा जोड दिनु नै महत्वपूर्ण भएको बताउँदै सरकारले यो कुरामा विशेष ध्यान दिने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले यो सम्मेलनबाट आएको सुझावलाई सरकारले आत्मसाथ गर्ने बताउनुभयो । पाठ्क्रम राम्रो बनाउने कुरामा जोड दिने र शैक्षिक सुशासन आवश्यक भएकाले यो कुरामा पनि सरकारले विशेष जोड दिने प्रतिवद्धता जनाउनुभयो । उहाँले यो सम्मेलनले जारी गरेको काठमाण्डाँै सिफारिसलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा देशभरिका ५५ विद्यालयका तीन सय शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको सहभागिता रहेको थियो । सम्मेलनमा सिङ्गापुर, संयुक्तराज्य अमेरिका, भारत, चीन र बङ्गलादेशका विज्ञका साथै शिक्षकहरूको उपस्थिति रहेको थियो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले कार्यक्रम सार्थक भएको भन्दै सबैलाई धन्यवाद दिनुभयो । आगामी दिनमा शिक्षा क्षेत्रको गुणस्तर वृद्धिको लागि रातो बङ्गला फाउण्डेशनलाई सरकारले सहयोग गर्ने पनि उहाँले प्रतिवद्धता जनाउनुभयो ।
रातो बङ्गला फाउण्डेशनका अध्यक्ष डाक्टर शान्ता दीक्षितले सम्मेलन सफल बनाउनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिदै अबको दुई वर्षको अन्तरालमा सातै प्रदेशमा गुणस्तरीय शिक्षाको विषयमा कार्यक्रम गर्ने लक्ष्य रहेको सुनाउनुभयो ।
दीक्षितले भन्नुभयो ‘तपाईहरूले आफ्नो कार्यस्थलमा ल्याउने परिवर्तनका आधारमा यो सम्मेलन सफल भएको मानिनेछ । यो सम्मेलन गुणस्तरीय शिक्षाको लागि कोशे ढुङ्गा सावित भयो भन्ने विश्वास मैले लिएको छु ।’
ललितपुर उपमहानगरपालिकाका उपमेयर गीता सत्यालले भन्नुभयो ‘शिक्षा क्षेत्रमा सङ्ख्यातमक वृद्धि भयो तर गुणात्मक वृद्धि भएन । शिक्षामा बजेट पर्याप्त छुट्याउन पनि सरकारले सकेको छैन ।’
स्थानीय तहमा शिक्षाको अधिकार संविधानले नै दिएको उल्लेख गर्दै त्यसलाई उपयोग गर्न केन्द्र सरकारले सहजीकरण गर्न नसकेको उहाँको भनाइ थियो । ‘यसले गर्दा पनि स्थानीय तहले गुणस्तरीय शिक्षाको लागि सोचेजस्तो काम गर्न सकेको छैन ।’ सत्यालले भन्नुभयो ।
कार्यक्रममा देशभरिका ५५ जिल्लाका तीन सय शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी गरी ६ सयभन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रम अवधिभर सामुदायिक विद्यालयका आठ जना शिक्षकले आफ्नो अनुभव आदानप्रदान गरेका थिए । सम्मेलनमा सिङ्गापुर, संयुक्तराज्य अमेरिका, भारत, चीन र बङ्गलादेशका विज्ञका साथै शिक्षकहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६, २१:१५