सल्यान । सल्यानमा ढाड भाँचिएर घाइते भएको अवस्थामा फेला परेको लोपोन्मुख जनावर ‘हाईना’ को उद्धार गरिएको छ । स्थानीय भाषामा ‘गधै बाघ’ भनेर चिनिने जनावर ‘हाईना’ को उद्धार गरेर डिभिजन वन कार्यालय सल्यानले बाँके राष्ट्रिय निकुञ्जमा पठाएको छ ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ भोटेचौरमा घाइते अवस्थामा फेला परेको हाईना अर्थात हुँडारलाइ उद्धार गरेर पठाइएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख थिरबहादुर कार्कीले जानकारी दिनुभयो ।
स्थानीयले देखेपछि सव डिभिजन वन कार्यालय छत्रेश्वरी तथा प्रहरीलाई खबर गरेका थिए । डिभिजन प्रमुख काकीले भन्नुभयो, ‘सव डिभिजन वन कार्यालय छत्रेश्वरीका वन रक्षक तेजबहादुर शाही लगायत कर्मचारीहरूले हाइनालाई उद्धार गर्नुभएको थियो ।
ढाड भाँचिएर घाइते अवस्थामा थियो ।’ सडकमा हिडिरहेको बेला कुनै गाडीले ठक्कर दिएर हाईनालाई घाइते बनाएको हुन सक्ने कार्यालय प्रमुख कार्कीको भनाइ छ ।
हुँडार भनेर पनि चिनीने हाईना नेपालको संरक्षित र लोपोन्मुख जनावरमा पर्दछ । वन कार्यालयका अनुसार नेपालको दाङ र सल्यानमा पाइने यो जनावर सीमित सङ्ख्यामा छ । अन्य देशकोभन्दा नेपालको हाइना सुन्दर देखिने डिभिजन वन कार्यालयका प्रमुख कार्कीले बताउनुभयो ।
उहाँका अनुसार नेपालमा हाईना दुई सयभन्दा बढी सङ्ख्यामा छैन ।
जिल्लामा हाइनाको चोरी शिकारी नहुने गरे पनि गाउँमा मानिसले विष राखीदिने र विष सेवनका कारण मर्नेगरेको वन कार्यालयले जनाएको छ । यसअघि वन कार्यालयले विष सेवन गरेर घाइते भएका दुईवटा हुँडारलाइ फेला पारेको थियो । ती दुई हुँडार उपचारको क्रममा मरेको थिए ।
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०७६, ११:२१