मेलम्ची । सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाँचपोखरी आवश्यक प्रचार–प्रसार नहुँदा ओझेलमा परेको छ । सरकारले सार्वजनिक गरेको एक सय गन्तव्यभित्र परे पनि पाँचपोखरीमा अझैँ पनि पर्याप्त पर्यटक भित्रिएका छैनन् ।
समुद्री सतहबाट चार हजार २ सय मिटरको उचाइमा रहेको यो पर्यटकीयस्थल स्वदेशी र विदेशी सबैको रोजाइमा पर्ने स्थान हो । अझै नेपाल भर्मण वर्ष २०२० को नेपालको घुम्नैपर्ने एक सय गन्तव्य मध्ये १६औँ स्थानमा पर्न सफल भएपछि स्थानीयबासी पर्यटक भित्र्याउन आआफ्नो ठाउँबाट लागीपरेका छन् ।
सफा आँगन र गोरेटो नजिकैको करेसाबारीमा लहलह अग्र्यानिक तरकारी तथा मौसमी फलफूल, गाउँले जीवनशैली, हिमाली सौन्दर्य, श्वेत झरना, निश्चल स्वच्छ र हराभरा वातावरणसँगै विभिन्न पाहुनाघरको बिछट्टै मायाले जो–कोही आफैँ लोभिन सक्छन् ।
अझै पाहुनाघरको स्वागत झनै लोभलाग्दो छ । स्वागतमा पूरै नेपाली परम्परागत परिकार खुवाइन्छ ।
२०७२ वैशाख १२ गतेको भूकम्पले धेरै नै क्षति गरेको भए पनि विस्तारै–विस्तारै त्यहाँको जीवनस्तर पुनः पहिलेकै अवस्थामा फर्किदैछ ।
अझै कतिपय पाहुना घर पहिलाको भन्दा सुधारिएर निर्माण गरिएका छन् । अहिले गाउँ–गाउँमा घरबासले पनि पर्यटकलाई झनै सहज भएको छ । गाउँले परिवेश, पारिवारिक वातावरणमा खान, बस्न पाइने भएपछि पर्यटक झनै लोभिने गरेका छन् ।
हालै ‘खेलको माध्यमबाट पर्यटन प्रवर्धन’ भन्ने मूल नाराका साथ यो स्थानमा हाफ ट्रेल म्याराथन सम्पन्न भएको छ । हरेक वर्ष जनैपूर्णिमाको अवसर पारेर हाफट्रेल म्याराथन हुने गरेको छ ।
यस्तै यो वर्ष पनि भएको खेलमा राष्ट्रिय तथा अन्तर्र्रााष्ट्रय धावकले सहभागिता जनाएका थिए । कार्यक्रममा पूर्व कानुन मन्त्री शेरबहादुर तामाङ, प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका खेलकूद विकास समितिका अध्यक्ष टासी शेर्पालगायत स्वदेशी तथा अन्य विभिन्न देशका महिला र पुरुष धावक गरी कूल १ सय ६४ जनाको सहभागिता थियो ।
कार्यक्रममा मुख्यतयः पयर्टनलाई लक्षित गरी विभिन्न लोक संस्कृति झल्काउने लाखेनाच, झाँकी नाच, लोकभाका, तामाङसेलो र परम्परागत वेषभूषा समावेश गरिएको थियो । पाँचपोखरीमा यो वर्ष पाँच हजार तीर्थयात्रीले मेला भरेका गाउँपालिकाका अध्यक्ष टासी लामाले बताउनुभयो ।
अध्यक्ष लामाले विगतको तुलनामा अहिले धेरै नै पर्यटक पाँचपोखरी भ्रमणमा आउने गरेको जानकारी दिनुभयो । पर्यटकको सङ्ख्या बढाउन गाउँपालिकाले विभिन्न नयाँ कार्ययोजना अगाडि बढाएको बताउँदै उहाँले भर्खरै परीक्षण गरिएको प्याराग्लाइडिङको सफलताको समेत चर्चा गर्नुभयो ।
पाँचपोखरीमा गत साउन २८ गते नागीडाँडादेखि गुन्सासम्म पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरेको थियो । यसले गर्दा अझै यो क्षेत्रमा स्थानीयवासीलगायत अन्य क्षेत्रका पर्यटक आउने सम्भावना रहेको अध्यक्ष लामाको भनाइ छ ।
उहाँका अनुसार पर्यटकलाई नै मध्यनजर गर्दै तीन हजार २ सय मिटरको उचाइमा रहेको च्योच्योडाँडामा हाइएल्टिट्युट ट्रेनिङ सेन्टरको स्थापना पनि गर्न लागिएको छ ।
पर्यटकीय धार्मिकस्थल पाँचपोखरी राजधानी काठमाडौँबाट सबैभन्दा नजिक रहेको लाक्पा दोर्जे र जुगल हिमालको काखमा रहेको छ ।
प्राकृतिक र धार्मिक महत्व बोकेको यस पोखरीमा प्रत्येक जनैपूर्णिमाको अघिल्लो दिन र मङ्सिर महिनाको पूर्णिमाका दिन विशेष मेला लाग्ने गर्छ ।
पाँचपोखरी नजिकै रहेको महादेवको मन्दिर वरिपरिको कुण्डमा नुहाइ पाँचवटा पोखरी परिक्रमा गरेमा पापमुक्त हुनुका साथै मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।
काठमाडौंबाट मेलम्ची, तिपेनी, थाङपालधाप हुँदै भोताङसम्मको बस यात्रापछि एकदेखि डेढ दिनमा पाँचपोखरी पुग्न सकिन्छ । भ्रमणका लागि समय र फुर्सदअनुसार यसलाई लम्ब्याएर पाँच तथा सात दिन लगाएर त्यहाँको परम्परागत जीवनशैलीको आनन्द लिन सकिन्छ ।
भैरवकुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड गरी पाँचवटा कुण्ड अर्थात् पोखरी रहेकाले यस स्थानको नाम पाँचपोखरी रहन गएको हो ।
धार्मिक महत्वका साथ यस स्थानमा जाने मानिस जनैपूर्णिमालाई लक्षित गरेर जाने गर्छन् भने प्राकृतिक सौन्दर्य निहार्न जाने प्रायः असोज कात्तिकमा जाने गर्दछन् ।
यो मौसममा हिउँ पर्ने भएकाले पाँचपोखरी आसपासको वातावरण अझै मनमोहक देखिन्छ । त्यसैले पछिल्लो समय पाँचपोखरी पदयात्रा अतिनै रमणीय भएको स्थानीयवासी बताउँछन् ।
प्रकाशित मिति: शनिबार, भदौ १४, २०७६, १५:४३