काठमाडौं । घर परिवार चलाउनका लागि श्रीमान विदेश जाने तयारी भएपछि सर्लाहीका रिना साहले ४ वर्षअघि गाउँकै श्यामकृष्ण साह कलवारसँग ऋण लिनुभयो । ५० हजार ऋण माग्दा ५ हजार काटेर ४५ हजार दिएका कलवारले हिजोआज १४ लाख मागेर हैरान बनाएको रिनाको दुखेसो छ ।
दुखेसो पोख्दै रिनाले सुनाउनुभयो, ‘पैसा त लिएँ तर, श्रीमान विदेश गएको पनि काम पाउनु भएन । म बिरामी भएँ । फेरि साहूसँग २ लाख ५० हजार लिएँ । त्यो बेलापनि साहूले ३० हजार काटेर पैसा दियो । पछि साहुसँग फेरि पैसा लिन सासूलाई पठाएँ । साहूले १० हजार दिएर ३० लाखको तमसुकमा छाप लगायो ।’
आफूले लिएको पैसा तिर्नुपर्छ भनेर भएको घर घडेरी बेचेर साहूलाई ४ लाख भन्दा बढी पैसा तिरेको भन्दै उहाँले घरका सदस्यसँग ७ वटा कागज बनाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आफूले साहूको पैसा ब्याज र साँवा सहित दिएर बनाएको कागज दिन भनें तर, साहूले धम्काउन थालेपछि गाउँ छोडेर अन्तै बस्न थालेको छु ।’
५० वर्षका पाँचु धामी पनि कलवारकै कारण पीडित हुनुहुन्छ । पाँचुले छोराको विवाहका लागि एक लाख ऋण लिनुभयो । धामीका अनुसार साहूले ऋण दिँदा १० हजार काटेर ९० हजार दिए र प्रत्येक महिना १०/१० हजारका दरले तिर्न भने ।
सुरुमा ऋण दिने तर व्याज बुझाउनेक्रममा परिवारको अर्को सदस्य जाँदा नयाँ तमसुकमा ऋण पनि बढाउने गरेको भन्दै स्थानीय श्यामकृष्णविरुद्ध कारबाहीको माग गर्दै काठमाडौं आएका हुन् ।
उहाँले साहूले भने अनुसार नै प्रत्येक महिना १०/१० हजार तिर्नुभयो । बाँकी रहेको अन्तिम किस्ता तिर्न जाँदा साहूले फोन गरेर भन्यो, ‘तपाईंलाई दिएको पैसा मैले अरुबाट लिएको हो । तपाईंले दुबै तिरको ब्याज तिर्नुपर्छ ।’
साहूको कुरा सुनेर पाँचुले प्रतिप्रश्न गर्दै भन्नुभयो, ‘मैले तपाईंको पैसा लिएको हो म अरुको पैसा किन तिर्नु ?’ साहूले पाँचुको कुरा सुनेपछि फोन राखेपछि पैसा तिर्न पाउनुभएन ।
उहाँले थप्नुभयो, ‘आफूले लिएको पैसाको ब्याज साँवा सहित २० हजार कम भएरपनि पैसा तिर्न जानुपर्छ भन्दै साहूलाई फोन गरें । फोन गर्दा साहूले भन्यो, ‘म काठमाडौं आइसकेको छु र अब कहिल्यै सर्लाही फर्किदिनँ ।’
पछि फेरि साहूको पैसा तिर्नुपर्छ भन्दै गाउँकै प्रहरीलाई भनेर साहूलाई फोन गर्न लगाएर पैसा तिर्न काठमाडौं गएको उहाँले सुनाउनुभयो ।
काठमाडौंमा चिनजानको प्रहरीसँग साहूलाई फोन गरेर पैसा तिर्न गएको भन्दै उहाँले भन्नुभयो, ‘साहूले मैले थुपै्र जनामाथि मुद्दा मामिला गरेको खर्च गर्दा ९ लाख भन्दा बढी पुगेको छ । त्यो खर्च पाँचुले व्यहोरेपछि मात्रै पैसा लिने भनेर भनेपछि प्रहरीले भन्यो, तपाईंले पाँचुमाथि मुद्दा गर्नुभएको हो ? साहूले उत्तरमा होइन भनेपछि प्रहरीले अनि किन उहाँले त्यो खर्च व्यहोर्ने भनेर हप्काए । तर, साहूले पैसा लिएन । पछि म घर फर्कें ।’
पाँचुका अनुसार उहाँका दाई अहिले जेलमा छन् । साहूसँग लिएको ऋण तिरेर घर फर्किएका पाँचुका दाई कारिललाई साहूले फोन गरेर घरमा भएको मोटरसाइकलको काम नभएकोले लिएर जान दवाव दिए । कारिलले केहि समय मोटरसाइकल प्रयोग गरेर साहूलाई फिर्ता गरे । केहि समयपछि साहूले प्रहरीमा उजुरी गरे र मोटरसाइकल चोरी भएको आरोपमा कारिललाई समात्न लगाए ।
२०७२ सालदेखि सुरु भएको ऋण लेनदेनका कारण पीडित हुनेले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउँदा पनि पीडितसँग कुनै प्रमाण नभएपछि कुनै सुनुवाई हुन सकेन ।
सुरुमा ऋण दिने तर व्याज बुझाउनेक्रममा परिवारको अर्को सदस्य जाँदा नयाँ तमसुकमा ऋण पनि बढाउने गरेको भन्दै स्थानीय श्यामकृष्णविरुद्ध कारबाहीको माग गर्दै काठमाडौं आएका हुन् ।
करहियाका पारो चौधरी पनि तिनैमध्येका एक पीडित हुनुहुन्छ । साहूसँग लिएको २ लाख ५० हजारमा अहिलेसम्म साँवा र ब्याज सहित गरेर ५ लाखभन्दा बढी तिरिसक्नुभयो ।
त्यति मात्र होइन सुनको मंगलसुत्र, कानमा लगाएको सुनको बाला र खुट्टामा लगाएको चाँदीको पाउजुपनि साहूले खोसिसकेको छन् । र पनि साहूले तेरो पैसा तिर्न अझै बाँकी छ पैसा नदिए सबलाई जेलमा हाल्छु भन्दै धम्की दिन थालेका छन् ।
पारो जस्तै सोन्फी चौधरी, बिल्टनीया चौधरी, हरिशचन्द्र महतो लगायत सर्लाहीका झन्डै ३ सय भन्दा बढीको अहिले उठीबास भएको छ । एउटै परिवारमा १९ वटासम्म करोडौको तमसुक बनाएपछि पीडित झन् पीडामा परेका छन् । साहूको पैसा तिर्दै आएका कतिपय व्यक्ति अहिले प्रहरीले पक्राउ गर्छ भन्ने डरले जिल्ला नै छोडेर भागेका छन् ।
२०७२ सालदेखि सुरु भएको ऋण लेनदेनका कारण पीडित हुनेले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउँदा पनि पीडितसँग कुनै प्रमाण नभएपछि कुनै सुनुवाई हुन सकेन ।
एकजना साहूका कारण यति धेरै परिवार पीडित भएको सार्वजनिक भएपछि न्याय दिलाउन पहल सुरु भएको छ । सर्लाहीका एक जना नागरिक अगुवा कमल बुढाथोकी पीडकलाई कारबाही र पीडितले न्याय पाउन् भन्दै पहल भइरहेको बताउनुहुन्छ ।
सीआईएनसँग कुराकानी गर्दैै उहाँले भन्नुभयो, ‘घटनाको विषयमा गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाइएको छ । उहाँले घटनाको बारेमा निष्पक्ष छानबिन गर्ने आश्वासन दिनुभयो ।’ बुढाथोकीले यो विषयमा विभिन्न पार्टी प्रमुखलाई पनि जानकारी गराइएको र सबैले पीडकलाई कारबाही हुन्छ भनेर आश्वासन दिएको बताउनुभयो ।
सर्लाहीका झन्डै ३ सय भन्दा बढीको अहिले उठीबास भएको छ साहूको पैसा तिर्दै आएका कतिपय व्यक्ति अहिले प्रहरीले पक्राउ गर्छ भन्ने डरले जिल्ला नै छोडेर भागेका छन् ।
ऋण लिने र दिने परम्परा भए पनि अस्वाभाविक व्याजदर र सावाँ जोड्दै आएको पीडितको गुनासो छ ।
पीडकलाई अब कस्तो कारबाही हुन्छ ? भन्ने प्रश्नमा अधिवक्ता अच्युतम आचार्यले घटना हेर्दा र सुन्दा ठगी भएको देखिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल सरकारको कानून अनुसार यस्ता प्रकृतिका घटनालाई ठगीमा समावेश गरिएको छ । तर, घटना ०७२ सालको भएको हुनाले त्यो बेलाको कानून अनुसार कारबाही हुन्छ ।’
नयाँ मुलुकी फौजदारी ऐन २०७५ अनुसार ७ वर्ष कैद र बिगो भराउने व्यवस्था छ भने त्यो भन्दा पहिलेको कानूनी व्यवस्था अनुसार न्यायाधीशको तजबिजमा भन्ने उल्लेख रहेको उहाँले बताउनुभयो ।
अधिवक्ता आचार्यका अनुसार त्यो बेलामा यो घटना भएको हुनालो एक दिनदेखि ५ वर्षसम्म कैद र जरिवाना भनिएको छ । तर घटनाले के भन्छ, त्यस अनुसार जरिवाना र सजाय हुन्छ । साथै ठगी गरेकोले कति ठगेको छ त्यसको बिगो पनि भराउने व्यवस्था छ ।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६, ०७:५९