उहाँले आफू अधिकृतमा आएको ३/४ महिना मात्रै भएकाले यो अभियान के हो कसको हो केही थाहा नभएको बताउनुभयो ।
काठमाण्डौँ । रौतहटका शिवलाल महतोका नातिनी ५ वर्ष पुगिन् । शिबलालले अब उनको पठनपाठनको बारेमा सोच्न थाल्नुभएको छ । उहाँले मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ को बारेमा सुनेको भए पनि आजसम्म पनि त्यसमा सहभागी हुन पाउनुभएन ।
महतो भन्नुहुन्छ, ‘रौतहटबाट जनकपुर गएर बसेर काम गराउन खर्च धेरै लाग्छ । खेती किसानी गर्नेलाई गाह्रो छ । त्यहि भएर गइन ।’ महतोका अनुसार नातिनीको बीमाका लागि वडाबाट सिफारिस लिएर गाउँपालिकामा जाँदा यसको लागि जनकपुर प्रदेश कार्यालय नै जानुपर्ने भन्दै फर्काइयो ।
सिरहाका धनिक सदाको छोरी जन्मिदा ‘बेटी बचाउ,बेटी पढाउ’ अभियान सुरु भइसकेको थियो । तर अभियानको बारेमा जानकारी नभएका कारण उहाँले छोरीको नाम यो दर्ता गराउनु पाउनुभएन । उहाँ भन्नुहुन्छ, ‘हामी जस्ता गरिबलाई कसले भन्छ र थाहा पाउनु । कोही आउँदैन न कसैले केही भन्छ ।’
गत वर्ष भदौ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ अभियानको औपचारिक रुपमा सुरु गर्नुभयो । प्रदेश सरकार गठन भएको समयदेखि नै प्रदेश सरकारको महत्वाकांक्षी योजनाको रुपमा रहेको यो कार्यक्रमले प्रसंशाका साथै चर्चामा पनि छ । तर, शिवलाल र धनिक जस्ता अभियानले नछोएका अभिभावक मात्र होइन, स्थानीय तह पनि छन् ।
नागरिकको हक अधिकारलाई सहज रुपमा गठन गरिएका स्थानीय सरकारका जनप्रतिनिधि नै यो अभियानबारे अनभिज्ञ छन् । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश अधिकारीलाई भने यो अभियानको बारेमा कुनै जानकारी नै छैन । उहाँले आफू अधिकृतमा आएको ३/४ महिना मात्रै भएकाले यो अभियान के हो कसको हो केही थाहा नभएको बताउनुभयो ।
अभियान अन्र्तगत अहिलेसम्म प्रदेश २ का झन्डै २० भन्दा बढी विद्यालयका १४ हजार छात्राहरुलाई साइकल वितरण गरियो भने एक सय छात्रामैत्री शौचालय निर्माण भइरहेको छ । कार्यक्रमका लागि प्रदेश सरकारले गत आर्थिक वर्षमा झन्डै २१ करोड रकम छुट्याएको थियो । छुट्याएको कुल बजेटमध्ये कति रकम खर्च भयो भन्ने यकिन तथ्याङ्क सरकारसँग छैन ।
तर, मुख्यमन्त्री राउत भने कार्यक्रम प्रभावकारी भएको दावी गर्नुहुन्छ । उहाँका अनुसार ८ जिल्लाका विभिन्न विद्यालयहरुमा एक सय शौचालय निर्माणको काम भइरहेको छ । ५ हजार भन्दा बढी छोरीहरुको शिक्षा बीमा गरिएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १८, २०७६, १३:४३