काठमाडौँ । पत्रकारहरूले बाल विवाह अन्त्यको विषयमा रिपोर्टिङका लागि कार्ययोजना बनाएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । सामुदायिक सूचना नेटवर्क (सीआईएन) सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को आयोजना र वल्र्ड भिजन इन्टरनेश्नलको सहकार्यमा ललितपुरमा भएको कार्यक्रममा बाल विवाहको विषयमा केन्द्रित रहेर विषयवस्तु उठाउने प्रतिवद्धता पत्रकारहरूले जनाएका हुन् ।
अहिलेसम्म बाल विवाह अन्त्यको लागि सञ्चारमाध्यमले उठाएको विषयमा बस्तु सतही मात्र भएको र अबका दिनमा भने यी विषयवस्तुलाई गम्भीरतापूर्वक प्रस्तुत गर्ने प्रतिवद्धता पनि जनाइएको छ ।
बालविवाह अन्त्यको लागि पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको कार्यक्रममा सञ्चारकर्मी, सञ्चारमाध्यमले बालविवाहको विषयमा कस्तो सामग्री प्रसारण र प्रकाशन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।
कार्यक्रममा वरिष्ठ पत्रकार बविता बस्नेतले बालविवाह अन्त्यको लागि रेडियोलगायत सञ्चारमाध्यमा प्रसारण हुने सामग्रीको प्रभाव सकारात्मक पुग्नुपर्नेमा सबै सञ्चारमाध्यम सचेत हुनुपर्ने बताउनुभयो । उहाँले सञ्चारमाध्यमबाट प्रसारण प्रकाशन हुने कुनै पनि सामग्रीको प्रभाव, त्यसमा प्रयोग भएको भाषा र दिन खोजेको सन्देशमा सम्वेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का अध्यक्ष सुवास खतिवडाले सामुदायिक रेडियोले बालविवाह अन्त्यको लागि गरिरहेको काम र अबका दिनमा अन्य सञ्चारमाध्यमले दिनुपर्ने सामग्रीको विषयमा जानकारी गराउनुभयो ।
अकोराबका कार्यकारी निर्देशक बालकृष्ण पोखरेलले बालविवाह अन्त्यको लागि विषयवस्तुमा केन्द्रित भएर, मुल्याङ्कन, प्रभावकारिता, विश्वासयोग्य र सत्यपरक सामग्रीको प्रसारण गरी बाल विवाह रोक्न सकिने बताउनुभयो । बालविवाह अन्त्यको लागि नेपाल सरकारले १८ अर्बभन्दा बढी खर्च गरिसकेको भए पनि यसको प्रभावकारिता सञ्चारमाध्यमविना नदेखिने बताउनुभयो ।
नेपाल सरकारको दिगो विकास लक्ष्यलाई पूरा गर्नको लागि पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने र यो विषयवस्तुमा पत्रकारहरूले लेखिरहनुपर्नेमा वल्र्ड भिजन इन्टरनेश्नल नेपालका मविन घलेले जोड दिनुभयो । दिगो विकास लक्ष्य अनुसार नेपाल सरकारले सन् २०३० सम्म बालविवाहमुक्त मुलुक घोषणा गर्ने लक्ष्य लिएको छ ।
सामुदायिक सूचना नेटवर्क (सीआईएन) का समाचार प्रमुख गोविन्द खड्काले पत्रकारहरूले चलचित्र लगायतका सामग्रीले पार्ने प्रभाव, घर, विद्यालयमा बालविवाहको विषयमा कसरी सिकाइन्छ, प्रहरीले बालविवाह रोक्न कसरी सहयोग गरेका छन् या छैनन् भन्ने विषय उठाउनुपर्ने धारणा राख्नुभयो ।
उहाँले अहिलेसम्म हामीले बालविवाहको रिपोर्टिङ जत्ति गर्नुपर्ने हो त्यत्ति नगरेकाले पनि यसको प्रभाव राम्रोसँग समाजमा पर्न नसकेको बताउनुभयो ।
कार्यक्रममा सहभागि नेपाल पत्रकार महासंघका सदस्य ,सामुदायिक रेडियोका प्रतिनिधि, पत्रपत्रिकामा कार्यरत पत्रकारहरुले पनि बालविवाहको विषयमा गरिरहेको रिपोर्टिङको विषयमा अनुभव आदानप्रदान गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६, २०:२७