काठमाडौँ । अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा सल्यान कपुरकोटको एक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ ।
गाउँपालिका राष्ट्रिय महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष भीमबहादुर सेनले आधारभुत विद्यालय, कपुरकोट ४ क्युरेनीमा स्थापना गरिएको पुस्तकालयको उद्घाटन गर्नुभयो ।
‘पढ्नको लागि कोठा’ कार्यक्रम र कपुरकोट गाउँपालिकाको सहकार्यमा पुस्तकालय स्थापना भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्कसिंह ठकुरीले जानकारी दिनुभयो ।
पठन संस्कृतिको विकास र विद्यार्थीमा पाठ्यक्रम बाहेक अतिरिक्त ज्ञान प्रदान गर्न आधारभूत विद्यालय क्युरेनीसहित कपुरकोट गाउँपालिकाका ९ वटा विद्यालयमा पुस्तकालय स्थापना गरिएको रुम टु रिड कार्यक्रमका फिल्ड संयोजक हेम लम्सालले बताउनुभयो ।
उहाँका अनुसार सल्यानका ५४ विद्यालयमा यो कार्यक्रम सञ्चालन भइरहेको छ ।
विद्यार्थीमा पढ्ने सीप र बानीको विकास गर्ने उद्देश्यले रुम टु रिडसँगको सहकार्यमा कपुरकोटका विद्यालयमा सञ्चालन भइरहेको साक्षरता कार्यक्रम प्रभावकारी बनाउन सबैको दायित्व रहेको महासङ्घका अध्यक्ष सेनले बताउनुभयो ।
कपुरकोट गाउँपालिका अध्यक्ष समेत रहनुभएका उहाँले सामुदायीक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाई सबैको आकर्षणको थलो बनाउन आफू क्रियाशील रहेको धारणा राख्नुभयो । साहित्य, विज्ञान, मनोरञ्जन विधाका ६ सय १५ पुस्तकहरु क्युरेनी पुस्तकालयमा राखिएका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६, १७:१७