मेरो एफएम, काठमाडौँ ।
जनसङ्ख्या बढ्दै गर्दा शहरी क्षेत्रमा पिउने पानीको हाहाकार हुँदै गएको छ भने भएका स्रोतबाट पनि पानी पर्याप्त आउनै छाडेको छ ।
स्थानीय सरकार भने खानेपानीको व्यवस्थापनका लागि काम भइरहेको बताइरहेका छन् । स्वच्छ खानेपानी नै स्वथ्य जीवनको आधार मानिन्छ तर सङ्घीय राजधानी भएको जिल्ला काठमान्डौमा नागरिकले भनेजस्तो र चाहेजसरी खानेपानी पाउन सकेका छैनन् ।
खानको लागि अधिकांशले जारको पानीमा भर पर्नुपरेको छ ।
काठमाडौं महानगरपालिकाका स्थानीय केशव मिश्र बजारमा विक्रिका लागि राखिएका पानी शुद्ध भनेर खाने गरेपनि त्यसको श्रोत र कसरी प्रशोधन भइरहेको छ भन्ने विषयमा जानकारी नहुने गरेको बताउनुहुन्छ ।
मिश्रले भन्नुभयो, ‘शुद्ध पानी भनेर खान्छौं, अहिले बजारमा विभिन्न खालको ब्रान्डको जारको पानी, बोतलको पानी आएको छ । तर त्यो कहाँबाट ल्याइन्छ, कसरी भरीन्छ, प्रशोधन कसरी हुन्छ भन्ने जानकारी छैन । पोखरीबाट पो ल्याइएको छ कि ?’
पिउनका लागि अहिले प्रयोग भइरहेको पानी र स्रोतमा समेत गुणस्तर नभएको बेलाबखत खबर सार्वजनिक हुने गरेका छन् ।
खानेपानी संस्थानसँगको सहकार्यमा पाइपलाईन, डिप वोरिङमार्फत् पानीको वितरणमा लागिपरेको तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा बताउनुहन्छ ।
बोहोराले भन्नुभयो, ‘नगरपालिकाले अहिले आफैंले त्यो खालको प्रोजेक्ट लन्च गर्न सक्दैन । तर केयुकेएलसँग र खानेपानी संस्थानसँग समन्वय गर्दै प्रत्येक ठाउँमा खानेपानीको पाइपलाइन विस्तार गर्ने काममा नगरपालिका लागेको छ । प्रत्येक घरमा शुद्ध खानेपानी पुगोस् भन्ने उद्देश्य नगरपालिकाले राखेको छ । ’
दिगो विकासका लक्ष्यअनुसार सन् २०३० सम्ममा सबैको निम्ति सुरक्षित र किफायती वा वेहोर्न सकिने खानेपानीको सर्वव्यापी र समतामूलक पहुँच हासिल गर्ने सरकारको अभियान छ ।
पानीको अभावबाट पीडितहरुको सङ्ख्या उल्लेख्य रुपमा घटाउने दिगो विकासको लक्ष्य छ । त्यसैअनुसार नै आफूहरूले पनि योजना बनाएको दक्षिणकाली नगरपालिकाका मेयर मोहन मोहन बस्नेतले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कार्यक्रमहरु नगरपालिकाले अगाडी बढाइराखेको छ । त्यसमा आफ्नो बजेटको सीमाभित्र रहेर, सम्भावित ठाउँको पहिचान गरेर, जुन ठाउँमा खानेपानीको बढि समस्या छ, त्यहाँ अलि बढि बजेट राखेर आउने २ वर्षभित्र सबैको घर घरमा धारा पुर्याउने किसिमको लक्ष्य निर्धारण गरिएको छ । ’
काठमाडौं उपत्यकामा खानेपानीको प्रमुख स्रोत जमिनमुनिको पानी रहेको नेपाल खानेपानी संस्थानको तथ्यांकमा उल्लेख छ ।
सार्वजनिक ढुंगेधारा, इनार, कुवा र घरघरमा बनाइने ट्युबवेलको स्रोत पनि भूमिगत पानी नै हो । तर जथाभावी रुपमा भूमिगत पानी निकाल्ने क्रम जारी रहँदा पनि नियमन भने प्रभावकारी बनेको छैन ।
यसो हुँदा सन् २०२० सम्ममा पर्वतीय क्षेत्र, वन, सीमसार, नदी, भूमीगत जलभण्डार र ताललगायत पानीसँग सम्बन्धित परिस्थितिकीय प्रणालीहरुको संरक्षण र पुनःस्थापन गर्ने लक्ष प्राप्त हुने अवस्था पनि चुनौतीपूर्ण बनेको छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६, ०७:१४