बारा । बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन परियोजना आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
नेपाल र भारत दुबै देशको उच्च प्रथमिकतामा रहेको यो परियोजनाको आज दुबै देशका प्रधानमन्त्रीले उच्च प्रविधिमार्फत उद्घाटन गर्नुभएको छ ।
भारतका प्रधानमन्त्रीले दिल्लीबाट र नेपालका प्रधामन्त्रीले सिंहदरबार काठमाण्डौबाट एकैसाथ स्विच थिचेर परियोजनाको उद्घाटन गर्नुभयो ।
उद्घाटन पश्चात पाईपलाईनमार्फत आएको डिजल भारतीय आयल कर्पोरेशन (आईओसी) का कार्यकारी निर्देशक जेपी सिन्हाले भाँडोमा थापेर नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई हस्तान्तरण गर्नुभएको थियो ।
पाईपलाईन उद्घाटन कार्यक्रमलाई सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो परियोजना नेपाल र भारतमात्र नभई दक्षिण एसियाकै पहिलो र नमुना भएको बताउनुभयो ।
यो परियोजनाले समय बचत मात्र नभएर पेट्रोलियम पदार्थ आपूर्तिमा लाग्ने व्ययभार कम हुनका साथै ट्राफिक ब्यवस्थापन समेत सजिलो हुने बताउनुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्ला केही बर्षयता नेपाल–भारत राजनीतिक सम्बन्धमा अभूतपूर्व निकटता बताउनुभयो । दुई दशेको संयुक्त प्रयासको उद्देश्य नै दुबै देशका नागरिकको हितका लागि हुने भन्दै उहाँले यो साझेदारीलाई अझै सक्रिय बनाउन नयाँ परियोजना अघी सारेको धारणा राख्नुभयो ।
उद्घाटन पश्चात अमलेखगञ्ज डिपोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय आयल कर्पोरेशन (आईओसी) का कार्यकारी निर्देशक सिन्हाले पाईपलाईन बिछ्याउनका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको पर्सा राष्ट्रिय निकुञ्जको नौ किलोमिटर जङ्गल क्षेत्रका कारण सुरुमा परियोजना असम्भव जस्तो देखिए पनि नेपाल सरकारको सहजताका कारण समयअगाबै सम्पन्न गर्न आफूहरु सफल भएको बताउनुभयो ।
भारतको पटनाबाट मोतिहारी हुँदै नेपालको अमलेखगञ्जसम्म कुल २ सय ५९.७ किलोमिटर मध्ये नवनिर्मित मोतिहारीदेखि अमलेखगञ्जसम्मको ६९.७ किलोमिटर पाईपलाईन आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको नेपाल आयल निगमले जनाएको छ ।
दैनिक २० घण्टा सञ्चालन क्षमताको यस पाईपलाईनबाट आवश्यक परेको खण्डमा दैनिक ३० हजार किलोलिटर तेल भित्र्याउन सकिने निगमको अमलेगञ्ज डिपोका प्रमुख प्रदिप यादवले जानकारी दिनुभयो ।
पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा हाल ढुवानीमा मात्रै खर्च भइरहेको वार्षिक ७० देखि ८० करोड रूपैयाँ बचत हुने निगमको अनुमान रहेको उहाँले बताउनुभयो ।
नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलको मुल्य समायोजन गरेको छ । उद्घाटन पश्चात आयोजित कार्यक्रममा बोल्दै निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले पेट्रोल डिजेल र मट्टितेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको जानकारी दिनुभयो ।
नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६, १९:२०