धनकुटा ।
भौतिक पूर्वाधारको विकाससँगै शहरीकरण बढ्दै गएको छ । गाउँहरु शहर बन्दै जाँदा फोहोर व्यवस्थापन मुख्य चुनौति बन्न थालेको छ ।
तर त्यही चुनौतिलाई धनकुटा नगरपालिका अवसरको रुपमा सदुपयोग गरेको छ ।
करिब ३० रोपनी क्षेत्रफलमा फैलिएको फोहोर मैला व्यवस्थापन केन्द्रले नगरबाट निस्कने फोहोरको मात्रालाई ३० बर्षसम्म धान्न सक्छ ।
‘मिथेन’ ग्यास उत्सर्जन रहित दाबी गरिएको केन्द्रमा सदरमुकाम धनकुटा बजार र हिलेबाट दैनिक २२.५ घनमिटर फोहोर जम्मा हुन्छ । नगरपालिकाले मानव शौचालय तथा घरबाट निस्कने र गल्ने फोहोरलाई कम्पोष्ट मलका लागि प्रयोग गर्दै आएको छ ।
कागज, काँच, प्लाष्टिक र धातुजन्य फोहोर छुट्याएर बिक्रि गरिन्छ ।
नगर प्रमुख चिन्तन तामाङ्ग फोहर व्यवस्थापनको महत्वपूर्ण पाटो फोहोर उत्पादन गर्ने पक्ष भएको र त्यो पक्ष सचेत रहेकाले पनि आफूहरुलाई फोहोर व्यवस्थापनमा सजिलो भएको बताउनुहन्छ ।
तामाङ्गले भन्नुभयो, ‘नागरिकको सहयोगले नै हामी सफल भएका हौं । उहाँहरु सचेत हुनुहुन्छ, बाटोमा फोहोर फाल्नुहुन्न, सार्वजनिक ठाउँमा फोहोर फाल्नुहुन्न । त्यतिमात्रै होइन, जम्मा गरेको फाहोर लिन समयमा गाडी आएन भने किन आएन ? भनेर प्रश्न गर्नुहुन्छ ।’
नगरपालिकाले मानव शौचालय तथा घरबाट निस्कने र गल्ने फोहोरलाई कम्पोष्ट मलका लागि प्रयोग गर्दै आएको छ । कागज, काँच, प्लाष्टिक र धातुजन्य फोहोर छुट्याएर बिक्रि गरिन्छ ।
तत्कालिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले २०७४ सालमा गरेको सफा शहरको मूल्यांकनका हिसाबले हिसाबले काठमाण्डु, पोखरा, दाङ, पाल्पा लगायत नगर भन्दा धनकुटा उत्कृष्ठ छ ।
घरबाट निस्कने फोहोरको मात्रा घटाउन धनकुटा नगरपालिकाले नगरका हरेक घरमा गड्यौला पालन अनिवार्य गरेको छ । वातावरणमैत्री गड्यौला पालनबाट नगरबाट बिसर्जन हुने ३७ प्रतिशत गल्ने फोहोरलाई घरैमा व्यवस्थापन गर्न सकिन्छ ।
भान्छाबाट निस्कने फोहोरलाई मल बनाउन तालिम र सहुलियतमा ‘कम्पोष्ट विन’ वितरण गरिएको छ ।
सरकारले लिएको दिगो विकास लक्ष्यमा सन् २०३० सम्म खानेपानी र सरसफाईको पहुँच, शहरी फोरमैला व्यवस्थापन र जलवायु परिवर्तन अनुकुलित स्मार्ट भिलेजमा ९० प्रतिशत लक्ष्य हाँसिल गर्ने भनिएको छ ।
तर धनकुटा नगरपालिका अहिले नै ८५ प्रतिशत भन्दा माथि रहेको नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले बताउनुभयो ।
घरबाट निस्कने फोहोरको मात्रा घटाउन धनकुटा नगरपालिकाले नगरका हरेक घरमा गड्यौला पालन अनिवार्य गरेको छ ।
खनालले भन्नुभयो, ‘दिगो विकास लक्ष्यको ६ नम्बर बुँदामा खानेपानी र सरसफाइको पहुँचको कुरा छ । ११ नम्बर बुँदामा शहरी फोहोरमैला व्यवस्थापन र १३ नम्बरमा जलवायु परिवर्तित स्मार्ट भिलेजको कुरा छ । यि तीनवटै कुरामा हामी अगाडी छौं । ’
खनालका अनुसार खानेपानी र सरसफाइमा सरकारले सन् २०३० सम्मको लक्ष्यमा ९० प्रतिशत भनेको छ, खानेपानी, शौचालयको पहुँचको हिसाबले धनकुटा अहिले नै ८५ प्रतिशत भन्दा माथि छ ।
धनकुटा नगरपालिकाले मरेका जनावर, मानव शौचालय तथा शहरबाट संकलन गरिएको फोहरको थुप्रो माथि नै फूलवारी सहितको सुन्दर पार्क बनाएको छ ।
दुर्गन्धीत ठानिएको फोहरको डङगुर माथि ४३ भन्दा बढि जातका फूल ढकमक्क फूलेका छन् ।
खेरजाने कुनै चिज छैन । सबै फोहरबाट मोहर मात्रै होइन, स्वच्छता र सुन्दरता पनि सम्भव छ भन्ने उदाहरण धनकुटा नगरपालिका बनेको छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६, १३:२२