रेडियो सिद्धबाबा, सिन्धुली ।
पहाडी जिल्लामा देखिएको फौजी किराको प्रकोपले किसान चिन्तित भएका छन् ।
किसानले लगाएको मकै, तरकारी लगायतका बालीमा फौजी किराले क्षति गरेको छ ।
सिन्धुलीमा फौजी किराले १५ दिनको अवधीमा झण्डै ९० हजार रोपनी क्षेत्रफलमा लगाईएको मकैबाली नष्ट गरेको छ ।
फौजी किराले मूख्यबाली मकै नष्ट पारेपछि खाने अन्नको अभाव हुने चिन्ताले किसानलाई सताएको छ । फौजी किराले मकै र तरकारी बाली नष्ट गरेपछि सुनकोशी गाउँपालिका–५ सिन्धुलीका सुनिता थापालाई अब के खाने भन्ने चिन्ता छ ।
थापाले भन्नुभयो, ‘मकै गोड्ने बेला भयो भनेर कोदालो बोकेर मान्छे लिएर जाँदा त गुभा गुभामा हरियो किरा । टुप्पा काट्ने कैँचीले भनेर कतिपयले भने, कैंचीले काटेर त के साध्य हुनु ? त्यहीपनि काट्यौं अलिअलि । हुँदाहुँदै छेउछाउको पात केहीपनि बाँकी नराखेर तरकारी समेत खायो ।’
हरियो पात सबै किराले खाएर खत्तम बनाएको सुनिताले बताउनुभयो । थोरै आफ्नो जग्गा र अरुको जग्गामा पनि खेती गर्नुभएका सुनिता आफू र बालबच्चामात्रै होइन वस्तुलाई पनि के खुवाउने भन्ने चिन्तामा हुुनुहुन्छ ।
उहाँले अगाडी भन्नुभयो, ‘वस्तुभाउ मर्ने भए, पालेका जन्तु । आफू के खानु, बालबच्चालाई के खुवाउनु ? तरकारी किनेर खानु परेको थिएन, अब के खानु ? ’
सुनकोशी क्षेत्रमा लगाईएको मकैबाली अमेरिकन फौजी किराले सखाप बनाएपछि सुनकोशी ५ माथिल्लोटारका किसान कृष्णप्रसाद दाहाल पनि समस्यामा हुनुुहुन्छ ।
दाहालले भन्नुभयो, ‘यही बालीबाट हामीले बाँच्नुपरेको छ । धान हुने सबै किसान छैनन्, प्रमुख बाली नै मकै हो । मकै बाली यसरी किराले सखाप पारेपछि अब के खाएर बाँच्नु हामीले ? ’
धान निकै कम फल्ने र प्रमुख बाली मकै भएकाले अब भोकमरी हुने हो कि भन्ने चिन्ता बढेको उहाँले बताउनुभयो ।
लामो खडेरी पछि यस क्षेत्रमा किसानले मकै रोपेका थिए । मकैका बिरुवा राम्रोसँग सप्रिएको थियो । तर गोड्ने बेलामा मकैको बोटै किराले खाएपछि, किसानहरुमा अनिकालको चिन्ता छ ।
प्रकोप क्षेत्रका किसानले दक्ष कृषि प्राविधिक नआएको गुनासो गरेका छन् । तर कृषि ज्ञान केन्द्र सिन्धुलीले क्षतिको विवरण संकलन र किरा नियन्त्रणको लागि पहल भईरहेको जनाएको छ ।
वरिष्ठ कृषि अधिकृत देवराज अधिकारीले फौजी किरा निकै छिटो फैलिने भएकाले नियन्त्रणका लागि सबै क्षेत्र लाग्नुपर्ने बताउनुभयो ।
सिन्धुलीमा पहिलो पटक मकै बालीमा देखिएको अमेरिकन फौजी किरा नियन्त्रणका लागि स्थानीय सरकारले पहल नगरेको किसानको गुनासो छ । तत्काल फौजी किरा नियन्त्रण गर्न नसके खेतबारी बाँझै हुने किसानहरुको चिन्ता छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६, १३:०२