काठमाडौं । समाजिक सञ्जाल व्यवस्थित बनाउने विषयमा संसदमा छलफल सुरु भएको छ । सरकारले सूचना तथा प्रविधिसम्बन्धी विधेयक पेश गरेपछि सांसदहरुले बहस सुरु गरेका छन् ।
सत्तापक्षका सांसदहरुले विधेयकको पक्षमा र विपक्षका सांसदहरुले विधेयकको विपक्षमा तर्क राखेका छन् । सञ्चार तथा सूचना प्रविधि गोकुल बास्कोटाले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने कुरा बेतुकको हल्ला मात्रै भएको बताउनुभएको छ ।
सूचना तथा प्रविधिसम्बन्धी विधेयकबारे प्रतिनिधि सभामा सांसदहरुको जवफ दिँदै मन्त्री बास्कोटाले सही कुरालाई सही र गलत कुरालाई गलत भन्न सक्नुपर्ने बताउनुभयो ।
उहाँले हुँदै नभएको कुरालाई हो भनेर समय खेर नफाल्न पनि अनुरोध गर्नुभयो । ‘सामाजिक सञ्जालमा प्रतिबन्ध होइन, नियमन गर्न खोजिएको छ, सामाजिक सञ्जालका कम्पनी दर्ता हुनुपर्छ, कसैले पनि मनपरी गर्न पाइँदैन’ मन्त्री बास्कोटाले भन्नुभयो, ‘विधेयक राम्रो गर्न ल्याएको हो । राम्रो गर्न केही गल्ती भए सच्याउन सकिन्छ तर पूर्वाग्रहलाई त के गर्न सकिन्छ ? सलाम छ हजुर । ’ उहाँले त्यसो भन्दा सांसदहरु हाँसेका थिए ।
नेपाली कांग्रेसका सांसद् गगनकुमार थापाले सरकारले गलत उद्धेश्यका साथ सूचना तथा प्रविधिसम्बन्धी विधेयक ल्याएको दाबी गर्नुभयो ।
फेसबुक, ट्वीटरसहितका सामाजिक सञ्जाललाई दर्ता गर्ने कुरा ठीक भए पनि यदि ती कम्पनी नेपालमा दर्ताका लागि आएनन् भने के गर्ने भन्ने कुरा प्रष्ट हुन नसकेको उहाँको तर्क थियो । नेकपाका सांसद योगेश भट्टराईले विधेयकले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न खोजेको बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५, १६:४६