काठमाडौँ । दक्षिण एसियामै नेपाल पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा भएको छ ।
२०६८ असार १० गते पूर्व प्रधानमन्त्री झलनाथ खनालले कास्कीलाई नेपालको पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरेसँगै अभियानको थालनी भएको थियो ।
अभियान सुरु भएको ८ वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो एक कार्यक्रमका बीच नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणा गर्दै यस अभियानले मुलुकलाई सभ्यताको एक सिँढी माथि उठाएको बताउनुभएको छ ।
खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको घोषणा समारोहमा प्रधानमन्त्री ओलीले घोषणामा अन्तरनिहित विविध पक्षलाई सवलीकृत गर्दै अनवरतरुपमा जनजागरण र जनचेतना फैलाउन आवश्यक भएकामा जोड दिँदै नेपाललाई अल्पविकसितबाट माथि उठाउने, गरिबीको रेखाबाट माथि पुग्ने, निरक्षता उन्मूलन गर्ने जस्ता कामका लागि सरकार सजगताका साथ योजनाबद्ध कार्यक्रमका साथ अगाडि बढेको पनि जानकारी दिनुभयो ।
उहाँले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न नेपाल हरेक दिन एक कदम अगाडिको अभियान थालेको उल्लेख गर्दै सामाजिक र स्वास्थ्य स्थितिमा सुधार ल्याउनका लागि नयाँ उचाईमा पुगिएको बताउनुभयो ।
यस घोषणाबाट मानिस निरोगी हुने, स्वास्थ्य उपचारमा हुने खर्च घट्ने, संक्रामण रोग कम हुने, मृत्युदर कम हुने र सरदर आयु वृद्धि हुने प्रधानमन्त्रीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालका ७ स ५३ स्थानीय तह, ७७ जिल्लाहरूले गरेको खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेको कार्यलाई कदर गर्दै नेपालललाई खुला दिसामुक्त घोषणा गर्नुभयो । उहाँले सन् २०३० सम्म दीगो विकासको लक्ष्य पूरा गर्ने संकल्पन पनि गर्नुभयो ।
खुला दिसामुक्त घोषणा कार्यक्रममा बोल्दै खानेपानी मन्त्री बिना मगरले यसलाई ठूलो सफलताको रूपमा लिनुपर्ने बताउनुभयो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो प्रदेशमा पनि सबै घरमा शौचालय बनिसकेको दावी गर्नुभयो ।
कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले भने खुला दिसामुक्त घोषणा गरिए पनि यस्लाई स्थायीत्व दिनका लागि सरोकारवाला निकाय एक जुट हुनुपर्ने धारणा राख्नुभयो । सरकारको त्थ्याङ्कअनुसार देशका ५६ लाख ६० हजार दुई सय १४ घरधुरीमा शौचालय बनिसकेका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६, ०९:४५