काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको बलात्कार प्रयासको आरोपको बारेमा अनुसन्धान गर्न सहयोग गर्ने बताउनु भएको छ ।
संसद सचिवालयका एक महिला कर्मचारीले सभामुखमाथि बलात्कार प्रयासको आरोप लगाउँदै बिभिन्न सञ्चारमाध्यममा आफ्नो विचार व्यक्त गरेकी छन् ।
सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले आफूमाथि लागेको आरोपको अनुसन्धानका लागि सहयोग गर्ने धारणा सभामुखले सचिवालयसँग बताउनुभएको छ । सभामुख महराको सचिवालयले फसाउन गरिएको प्रयास भन्दै आरोपको खण्डन गरेको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पनि सभामुखमाथि लागेको आरोपका बारेमा छलफलका गर्न सचिवालय बैठक बोलाएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीचको छलफलपछि प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक बैठक बोलाइएको हो । बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र दाहाल बीच छलफल भएपछि सचिवालय बैठक बोलाइएको छ ।
अध्यक्ष दाहाल र सभामुख महराबीच बिहानै छलफल भइसकेको छ । पार्टीले राजीनामाका लागि आग्रह गरेमा सभामुख महराले अस्वीकार नगर्ने उहाँका प्रेस सल्लाहकार मल्लले सीआईएनसँग बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६, ११:१३