काठमाडौं । आज दशैंको सातौ दिन देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्रयाइन लागेको छ । देशभरी घटस्थापनादेखि पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ ।
आश्विन शुक्ल सप्तमी अर्थात फूलपातीका दिन फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने समितिको भनाई छ । आजकै दिन हनुमानढोकास्थित दशैंघरमा पूजारीसहित फूलपाती ल्याउने र भित्रयाउने चलन छ । फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका छ जना र त्यहाँबाट काठमाडौंको जमलसम्म छ जना ब्राह्मणले ल्याउने चलन छ ।
फूलपाती भित्रयाउन गुरुज्युको पल्टन, नेपाली सेना, नेपाल प्रहरी र निजामती सेवाका उच्चपदस्थ अधिकारीहरु, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङगारिएका कल्स्यौडीहरु र साँस्कृतिक नाचगानसहितको लावालस्कर हनुमानढोकाबाट जमल प्रस्थान गर्ने गर्छ । आज कालरात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । घटस्थापनाका दिनदेखि दशैं शुरु हुने भएपनि दशैंको विशेष चहलपहल भने फूलपातीका दिनदेखि सुरु हुन्छ ।
प्रकाशित मिति: शनिबार, असोज १८, २०७६, ०७:१६