काठमाण्डौं । बलात्कार आरोप लागेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि महरालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिनु अघि सभामुख निवास बालुवाटारमा प्रहरीको बाक्लो उपस्थिति रहेको थियो । महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले नियन्त्रणमा लिएको हो ।
महरालाई प्रहरीले पक्राउ गरेर अनामनगर वैद्यखानास्थित महानगरिय प्रहरी वृत सिंहदरबारमा ल्याएको छ । महरालाइ कारमा हालेर प्रहरी वृतमा ल्याइएको हो । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाट आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै शुक्रबार रोशनी शाहीले प्रहरीमा उजुरी दिएसँगै महरालाइ नियन्त्रणमा लिईएको हो । यस अघि आजै जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न अनुमति दिएको थियो । प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो । आजै जिल्ला अदालतले पक्राउ पुर्जी जारि गरेपछि निर्वतमान सभामुख कृष्णबहादुर महरालाई पक्राउका लागि प्रहरीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई लिखित जानकारी गराएको थियो । महरा प्रतिनिधि सभा सदस्य भएको कारण पक्राउ गर्नुपुर्व संघीय संसदलाई जानकारी गराउनुपर्ने कानुनी प्रावधान छ ।
सोही प्रावधान अनुसार प्रहरीले संघीय संसदका उपसभामुख तुम्बाहाम्फेलाई लिखित जानकारी दिएको हो । फौजदारी कसुरमा अदालतको पक्राउ आदेससँगै महरा प्रहरी हिरासतमा बस्नुपर्ने छ । अपराध संहिता २०७५ अनुसार बलात्कार गरेको प्रमाणित भए महरामाथि ७ देखि १० वर्ष कैद सजाय हुनेछ भने बलात्कारको प्रयास गरेको प्रमाणित भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
प्रकाशित मिति: आइतबार, असोज १९, २०७६, १८:५२