काठमाडौं । बलात्कार आरोपपछि पक्राउ पर्नुभएका निर्वतमान सभामुख कृष्णबहादुर महराका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । महराबारेको अनुसन्धान अब हिरासतमै राखेर हुने छ भने अदालतमा बहस दशैं बिदा सकिएपछि मात्रै हुनेछ ।
प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि महरालाई हिजो साँझ बालुवाटार निवासबाटै नियन्त्रणमा लिएको हो । पक्राउ परेका महरालाई अनामनगर वैद्यखानास्थित महानगरिय प्रहरी वृत सिंहदरबारमा राखिएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले महराको बयान अदालत र सरकारी वकिलको कार्यालय खुलेपछि मात्रै सुरु हुने बताउनुभयो । २६ गतेसम्म विदा र २७ गते पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा अदालत बन्द भएकाले २८ गते मात्रै अदालति प्रक्रिया सुरु हुनेछ ।
महराबाट आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै शुक्रबार प्रतिनिधिसभामा काम गर्ने रोशनी शाहीले प्रहरीमा उजुरी दिएसँगै महरालाई नियन्त्रणमा लिईएको हो । पक्राउ परेका महरामाथि मुलुकी फौजदारी अपराध संहिता अनुसार अनुसन्धान सुरु हुनेछ ।
अपराध संहिता २०७५ अनुसार बलात्कार गरेको प्रमाणित भए महरामाथि ७ देखि १० वर्ष कैद सजाय हुनेछ भने बलात्कारको प्रयास गरेको प्रमाणित भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
नेपालमा उच्च ओहोदाको व्यक्ति प्रक्राउ परेको यो पहिलो पटक हो ।
पक्राउ परेका महरा दोषी ठहर नभएसम्म उहाँको सांसद पद कायमै रहने भएपनि सांसदले पाउने सेवा सुविधा भने नपाउने संसद सचिवालयले जनाएको छ ।
सांसद पद के हुन्छ ?
प्रतिनिधिसभा नियमावली–२०७४, अनुसार कृष्णबहादुर महराको संसद पद अब स्वतः निलम्बनमा पर्नेछ । फौजदारी अभियोग लागेका महराले सांसद पदको हैसियतमा कुनै अधिकार, सेवा, सुविधा र पारिश्रमिक पाउनुहुने छैन । संसद नचलेकाले सांसदहरुलाई महरा फौजदारी अभियोगमा पक्राउ सूचना संसद सचिवालयको सूचना पाटीमा टाँसेर जानकारी गराइनेछ । तर, अहिले दशैंका कारण संसद सचिवालय पनि बन्द भएकाले विदा सकिएपछि मात्रै सूचना टाँस गरिनेछ ।
दशैंको सार्वजनिक विदा भएकाले विदा सकिएपछि मात्रै महरा निलम्बनमा परेको सूचना टाँसिने उपसभामुख शिवमाया तुम्बाहाङ्फेको सचिवालयले जनाएको छ । महराको राजीनामा सँगै सभामुख पद रिक्त भइसकेको छ । तर, सांसद पद भने रिक्त हुने व्यवस्था संविधान र संसद नियमावलीमा छैन ।
प्रतिनिधिसभा नियमावली–२०७४, को नियम २४४ ९३० र ९४० अनुसार, महरामाथि लागेको आरोप प्रमाणित भएमा पनि उनको सांसद पद रिक्त हुने छैन । संविधान विद् विपिन अधिकारीले महरामाथि लागेको आरोप प्रमाणित हुँदा समेत सांसद पद भने रिक्त नहुने बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, असोज २०, २०७६, ०६:५३