काठमाडौं । चीनियाँ राष्ट्रपति सी जिनफिनको स्वागतका लागि नेपालले तयारी तिव्र पारेको छ । दुई देशबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध सुदृढ गर्ने साथै सहयोगको क्षेत्र बढाउने अवसरका रुपमा नेपाल सरकारले भ्रमण तयारी गरिरहेको छ ।
उहाँको भ्रमणको तयारीकै क्रममा आज सुरक्षा र राजकीय सवारीको अभ्यास पनि गरिँदैछ । नेपाली सेना, कर्मचारीसहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सी ओर्लिएपछि उहाँको सवारी, गार्ड अफ अनरको अभ्यास गरिनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष नेतृत्वमा भ्रमणको भौतिक, सुरक्षा लगायतका तयारी भइरहेको छ । नेपाल आउनुभन्दा पहिले भारतको चेन्नई छेउको मामलापुरममा सीलाई स्वागत गर्न भारतले पनि भव्य तयारी गरिहेको छ । चीनियाँ राष्ट्रपति सी ११ अक्टोबर अर्थात असोज २४ गते अपरान्ह भारतको चेन्नई पुग्नुहुने कार्यक्रम छ । भारतमा एकरात बसेर भोलिपल्ट उहाँको नेपाल आउने कार्यक्रम तय भएको छ ।
भ्रमण मिति औपचारिक रुपमा सार्वजनिक हुन भने बाँकी छ । तर, परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीसँग सीको भ्रमणबारे सोझै समन्वय गरिरहेको छ । एयरपोर्टमा चीनियाँ राष्ट्रपतिको विशेष विमान अवतरण भएपछि उहाँलाई काठमाडौंको सोल्टी होटल पुर्याइने कार्यक्रम छ ।
त्यहाँ केही बेर आरामपछि उहाँको सवारी राष्ट्रपति भवन शीतल निवासमा हुनेछ । शीतल निवासमा भेटवार्ता सकेर सी फेरि होटल सोल्टि फर्कनु हुने कार्यक्रम तय गरिएको छ । बाँकी सबै भेटवार्ता होटलमा नै हुनेछ ।
प्रकाशित मिति: सोमबार, असोज २०, २०७६, ०७:०८