काठमाडौं । आफ्ना खेलाडी कारबाही गरेको भन्दै काठमाडौं गोल्डेन्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको दोस्रो क्वालिफायर्स खेल बहिस्कार गरेको छ ।
भारतीय बलर अंकित दबासलाई बलिङमा प्रतिबन्ध लगाएको भन्दै काठमाडौंले महेन्द्रनगर युनाईटेडविरुद्धको क्वालिफायर्स खेल बहिस्कार गरेको हो । फाप्ला क्रिकेट मैदानमा आज काठमाडौंले महेन्द्रनगर युनाईटेडसँग प्रतिस्पर्धा गर्ने खेल तालिका रहेको थियो ।
दबासको बलिङ शंकास्पद रहेको पाइएपछि आयोजक डीपीएलले बिहिबार उनलाई प्रतिबन्ध लगाएको थियो । डीपीएलको प्राविधिक कमिटिले काठमाडौंले खेलेको २ फरक खेलमा दबासको बलिङ एक्सन अनाधिकृत रहेको पाईएको जनाएको थियो । तर, काठमाडौंका टिम व्यवस्थापक संजय श्रेष्ठले आयोजकले टिमसँग छलफल र कारबाही हुने खेलाडीलाई सुधारको लागि कुरा नगरी प्रतिबन्ध लगाएको कारण टिमले नखेल्ने निर्णय गरेको बताउनुभयो ।
काठमाडौंले बहिस्कार गरेसँगै महेन्द्रनगर फाइनलमा प्रवेश गरेको छ । महेन्द्रनगरले उपाधिका लागि सीवाईसी अत्तरियासँग भोली खेल्नेछ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५, १८:२२