काठमाडौं २३ असोज । चीनका राष्ट्रपति सी जिनफिन नेपालको दुई दिने राजकीय भ्रमणका लागि पर्सी शनिबार काठमाण्डु आउनु हुने भएको छ । लामो पर्खाई र कौतुहलबीच उत्तरी छिमेकी चीनले राष्ट्रपति सीको नेपाल आउने मिति र समय टुङ्गो लगाएको हो ।
रेल, सडक, सुरुङमार्ग, जलविद्युत परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा छलफल हुने
बेइजिङमा उहाँको नेपाल भ्रमणको मिति सार्वजनिक भएसँगै परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै सीको दुई दिने भ्रमणबारे सार्वजनिक गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको राजकीय भ्रमणका लागि उहाँ आउन लाग्नु भएको हो । चीनबाट २३ वर्षपछि यो स्तरको भ्रमण हुन लागेको हो । राष्ट्रपति सीको आज भारत जाने र भोलि भारत हुँदै नेपाल आउने कार्यक्रम तय भएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनफिनसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा छलफल हुनेछ । बेल्ट एन्ड रोड इनिसीएटिभ (बीआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष आग्रहमा मदन भण्डारीका नाममा खोल्न लागिएको विश्वविद्यालयका लागि चिनियाँ सहयोग मागिनेछ । सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्ने र टुँडिखेलमा राजकीय सम्मानको सलामी दिने तयारी भइरहेको छ ।
सीले आफूलाई आवश्यक पर्ने सवारी साधान आफैं लिएर आउनु हुनेछ । नेपाली सेनाको नेतृत्वमा चिनियाँ सेनासहितको टोलीले सुरक्षा दिनेछ । सीलाइ सरकारले विशिष्ट तहको ‘जेड प्लस’ सुरक्षा प्रदान गर्ने छ । यो तहको सुरक्षा व्यवस्थामा बुलेट पुफ्र गाडी तथा विशेष तालिम प्राप्त ३६ जना कमाण्डोको समूह रहने अभ्यास छ । उहाँले राष्ट्रपति भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्नुहुने र अन्य भेटघाट उहाँ बस्ने होटलमै गर्नुहुनेछ ।
चीनको चासो विज्ञको सझाव
नेपालको अधिकतम सहकार्य भइरहेको मुलुक भारत पुगेर काठमाडौं आउने र दुवै मुलुकलाई उत्तिकै समय दिनुले पनि यस क्षेत्रको राजनीतिमा केही संकेत गर्ने परराष्ट्र अधिकारीले बताएका छन् । सीको भ्रमणलाई नेपालले दुई देशबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध सुदृढ गर्ने साथै सहयोगको क्षेत्र बढाउने अवसरका रुपमा हेरेको छ ।
सीआईएनसँग कुराकानी गर्दै चीन मामिलाका जानकार डा.हिरण्यलाल श्रेष्ठले यो भ्रमणको अवसर पारेर नेपालले आर्थिक रुपमा बलियो हुने बिषयलाई प्राथामिकताका उठाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘चीनले ल्याएको बेल्ट एण्ड रोडको परियोजनाबाट नेपाल दक्षिण एसिया र चीनको ठूलो ट्रान्जिट मुलुक बन्ने भएकाले यो विषयलाई महत्वका साथ उठाउनुपर्छ ।
’प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिलाका सल्लाहकार डा.राजन भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनफिनको नेपाल भ्रमण उपलब्धिमूलक हुने बताउनुभएको छ । उहाँले चिनियाँ लगानी नेपालमा भित्र्याउने र चीनसँगको सडक सञ्जाल विस्तारका विषयमा पनि छलफल हुने भन्दै उहाँले केरुङ–काठमाडौं जोड्ने रेलका विषयमा समझदारी हुने सम्भावना रहेको बताउनुभयो ।
यस्तै, नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले चीनसँग ऋण लिएर लगानी गर्नु नेपालका लागि प्रत्युत्पादक हुने भएकाले अनुदानमात्र स्वीकार गर्नुपर्ने धारणा राख्नुभयो ।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६, ०६:४५