काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज काठमाडौँ आइपुग्नुभएको छ ।
राष्ट्रपति सी एयर चाइनाको विशेष विमानमार्फत काठमाडौँमा अवतरण गर्नुभएको हो । सी सवार एयर चाइनाको विशेष विमान अपरान्ह ४ः४७ मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले सीको स्वागत गर्नुभयो । विमास्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष, सरकारका मन्त्रीहरु तथा उच्चपदस्थ व्यक्तिहरूले उहाँलाई स्वागत गर्नुभएको छ ।
चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा गार्ड अफ अनरको सम्मान प्रदान गरिएको छ । विमानस्थलबाट सी सोल्टी होटल प्रस्थान गर्नुभएको छ । सीले आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुहुनेछ ।
पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पनि उहाँले आजै भेटघाट गर्नुहुने तय भएको छ । त्यसपछि उहाँ नेपाली समकक्षी भण्डारीले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनुहुने छ ।
हिजो भारत भ्रमणमा निस्कनुभएका सी आज त्यहाँको भ्रमण सकाएर चेन्नईबाट नेपाल आउनुभएको हो । सीको स्वागतको लागि विमानस्थल तथा उहाँ बस्ने बस्ने होटल सोल्टीसम्मको सडक दुवैतर्फ विशेष तवरबाट सिँगारिएको छ ।
चिनियाँ राष्ट्रप्रमुखको नेपालमा औपचारिक भ्रमण भएको यो २३ वर्षमा पहिलो अवसर हो । यसलाई विशेषरुपमा लिँदै नेपाल सरकारले चिनियाँ राष्ट्रपतिलाई उच्चस्तरको आतिथ्यता प्रदान गरेको छ ।
यसअघि सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रमण गर्नुभएको थियो । सी भोली १ बजे स्वदेश फर्कनुहुने छ ।
प्रकाशित मिति: शनिबार, असोज २५, २०७६, १८:१३