काठमान्डौं । ललितपुरस्थित एनसेलको गेट नजिक भएको बम परेर गम्भीर घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेडिसिटी अस्पतालमा उपचाररत सिंहप्रसाद गुरुङ रहनुभएको छ । उहाँको उपचारकै क्रममा बिहानीपख मृत्यु भएको हो ।
बिस्फोटमा परेर अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा प्रतिक्षा खड्का र आरुषा मानन्धर छन् । उनीहरुको उपचार भइरहेको छ ।
विस्फोटको घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले पक्राउ परेका दुई जनाको नाम भने गोप्य राखेको छ । प्रहरीका अनुसार बम बिस्फोट हुनुभन्दा केही समय अघि तीन चार जनाको समूहमा केही व्यक्ति एनसेल टावर अघि आएका थिए ।
उनीहरूले एनसेलेको सुरक्षा गार्डसँग केही कुरा गरेर बाहिरिएको सिसी टिभी फुटेजमा समेत देखिएको प्रहरीले जनाएको छ । उनीहरू त्यहाँबाट बाहिरिएको केही समयपछि प्रेसर कुकुर बम विस्फोट भएको थियो ।
त्यस्तै हिजै साँझ काठमान्डौं कमलपोखरीमा पनि बम फेला परेको थियो । कमलपोखरीकोे आँगन रेष्टुरेन्ट अगाडि फेला पारेको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको थियो ।
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५, ०८:२९