काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रप्रतिको मूल्य र मान्यतामा तलमाथि पर्न नदिने बताउनुभएको छ ।
नेपाली काँग्रेसले वडा दशैंलगायत विभिन्न चाडपर्वको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल ४५ वर्षदेखिका आफ्ना साथी भएको स्मरण गर्दै आफ्नो लोकतन्त्रप्रतिको निष्ठा उहँहरुलाई राम्ररी जानकारी भएको उल्लेख गर्नुभयो ।
“शेरबहादुर देउवा, रामचन्द्र पौडेल मेरा ४५ वर्षदेखिका साथी हुनुहुन्छ । उहाँहरुलाई लोकतन्त्रप्रतिको मेरो निष्ठा राम्रैसँग थाहा छ । त्यो निष्ठालाई म तलमाथि हुन दिन्न । ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्रीले दशैँलगायत चाडवाडले नेपालीको संस्कृतिलाई जीवन्त राख्ने मात्र नभई आपसी सम्बन्धलाई पनि बलियो बनाउने बताउनुभएको छ ।
“यस प्रकारका चाड र शुभकामनाका कार्यक्रमले राजनीतिक दलहरु बीच्को कटुतालाई पनि अन्त्य गर्छन् ।” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर अहिले त हामीमा कटुता हैन मित्रता छ । यस कार्यक्रमले हाम्रो मित्रतालाई थप बलियो बनाएको महसुस मैले गरेको छु । ”
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६, १८:०५