काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयास भएको भनिएकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहारलगायत शरीरका विभिन्न भागमा लागेका चोटमा बाहिरी मानिसको सलग्नता देखिएको उच्च स्रोतलाई उधृत गर्दै कान्तिपुर दैनिकले लेखेको छ ।
बाहिरी मानिसको संलग्नता भनिए पनि महराबाहेकका व्यक्ति वा अरु नै कोही भन्नेमा भने विस्तृत खुलाइएको छैन ।
प्रहरीले रोशनीलाई असोज १७ मा त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएको थियो ।संसद सचिवालयमा कार्यरत रोशनीमाथि बलात्कार प्रयासको आरोप लागेपछि निवर्तमान सभामुख महरालाई यही असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो ।
महरालाई प्रहरीले आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने तयारी गरेको छ । रिक्त रहेको सभामुख कसलाई बनाउने भन्नेमा भने सत्तारुढ दल नेकपामा आन्तरिक गृहकार्य थालिएको छ।
महराले यौन दुव्र्यबहार प्रकरणमा मुछिएपछि सभामुख पदबाट राजीनामा दिनुभएको थियो । नेकपामा पूर्व एमाले खेमाबाट सुवास नेम्बाङ र पूर्व माओवादीबाट देव गुरुङ, अग्नी सापकोटा र ओनसरी घर्ती लबिङमा हुनुहुन्छ ।
प्रकाशित मिति: मंगलबार, असोज २८, २०७६, ०६:२९