नेपाल कम्युनिस्ट पार्टी नेकपाले एकता टुङ्गो नलगाई कार्यदल भङ्ग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले साङ्गठनिक एकताको प्रारूपबारे टुङ्गो लगाउन गठन भएको कार्यदललाई भङ्ग गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको सचिवालय बैठकले कार्यदलको म्याद नथप्ने निर्णय गरेको थियो । कार्यदल भङ्ग गर्नुको कारण बारे राजन रुचालले नेकपा सचिवालय सदस्य झलनाथ खनालसँग कुराकानी गर्नुभएको छ ।
तपाईहरुले कार्यदल किन भङ्ग गर्नु भएको ?
कार्यदल चाँही अब जारी राख्नु जरुरी छैन । यस्ले जुन कार्यआदेश दिईएको छ ति कार्यदेशहरुको सबै काम गर्न सक्दैन । अध्यक्षहरुको सहभागिता नभई हुँदैन । सचिवालयको सहभागिता पनि चाहिन्छ । त्यसो हुनाले यो कार्यदललाई अन्य गरौँ भन्ने कुरा कार्यदलका संयोजकले नै भनेपछि कार्यदलको औचित्य समाप्त भयो । त्यसकारणले गर्दा खेरी कार्यदल विगठित भयो ।
विधान अनुसार स्थायी कमिटिले बनाएको कार्यदल सचिवालयले भङ्ग गर्न मिल्छ ?
विधानले त त्यस्को बारेमा केही कुराकानी गरेको छैन । त्यसलाई अहिलेसम्म हामीले भङ्ग पनि भनिहालिसकेका छैनौं । त्यस्तो केहि गर्नुप¥यो भने समिक्षा पनि गर्न सकिहालिन्छ नि ।
काम गर्छौ एकिकरणका विषय टुग्याउँछौ भनेर कार्यदलका कतिपय सदस्यले त समय माग गर्नुभएको थियो नि, तपाईहरुले किन तीन दिनको समय दिन कन्जुस्याँई गर्नुभएको ?
केही सदस्यले माग गर्नुभएको थियो केही सदस्यले माग गर्नुभएन । त्यसैमा पनि अलिकति विवाद रह्यो । मूख्य कुरा त संयोजक बालद जी ले नै अब कार्यदलले विवादित विषय टुङ्ग्याउन सक्दैन भनेपछि थप छलफल गर्नुपर्ने आवश्यकतै रहेन नि ।
तर कार्यदल गठन भएपनि तत्कालित बहुमत सदस्यले छुट्टै प्रतिवेदन बुझाउने पनि भनिरहनु भएको छ । यस्लाई चाँही कसरी लिन्छ सचिवालयले ?
होईन, उहाँहरुले यस्तो खालको विचार लिनुभयो भने त्यो उहाँहरुको विचारको कुरा हुन्छ । विचार लिनुभयो त्यस्लाई त पार्टिले हेरफेर गर्छ, पार्टिले छलफल गर्छ । आवश्यक नीति निरुपण गरिहाल्छ नि ।
तर यस विषयले चाँही नेकपा भित्र, विशेष गरी कार्यदल भित्र विवाद थियो भन्ने कुरा त देखिन्छ नि । होईन र ?
केही केही बहस छलफलहरु थिए पनि । अब त्यो कुरा देखियो भनेपनि त्यस्तो अनौठो कुरा केही हुँदैन । सचिवालयले ति कार्यआदेशको विषयवस्तुहरु छलफल गरेर टुङ्गो लगाएपछि सबै कुराहरु टुङ्गिन्छ ।
अनि सचिवालयले एकिकरणको विषय कहिलेसम्म टुंग्याउँछ ?
चाँडै हुन्छ । तर दुई अध्यक्षले समय मिलाउन नसक्दा समस्या भईरहेको छ । दुई अध्यक्षले समय मिलाउनु भयो भने, हामी पार्टी एकताको विषय एक डेढ हप्तामै टुंग्याउँछौं ।
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५, १५:१६