काठमाडौँ । स्थानीय सरकारहरुले सुशासनका लागि सामुदायिक रेडियोसँग सहकार्य गर्ने भएका छन् । सुशासन कायम गर्न सामुदायिक रेडियोहरुसँग सहकार्य गर्दै अघि बढ्ने सातै प्रदेशका नगरपालिकाले प्रतिवद्धता जनाएका छन् ।
काभ्रेको धुलिखेलमा आयोजित रेडियो कार्यक्रमका लागि सृजनशील कार्यशालामा बोल्दै स्थानीय तहका सूचना अधिकारीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
स्थानीय सरकार गठन भइसकेपछि स्थानीय सरकारले गर्ने हरेक काममा नागरिकलाई जोड्न सामुदायिक रेडियोहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै उनीहरुले स्थानीय सरकारको कामलाई अझै प्रभावकारी बनाउन रेडियोसँगको सहकार्य बढाउँदै लैजाने बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रदेश एकको दमक नगरपालिकाका सूचना अधिकारी समिप चुडांलले सबै नागरिकसम्म सूचना पुर्याउनका लागि सामुदायिक रेडियो सबैभन्दा प्रभावकारी माध्यम देखिएकाले रेडियोसँगको सहकार्य अझै बढाउँदै लैजाने बताउनुभयो ।
प्रदेश दुईको कलैया उप महानगरपालिकाका सूचना अधिकारी सुरेशकुमार यादवले स्थानीय नागरिकलाई स्थानीय भाषामा सूचना दिन सामूदायिक रेडियो सजिलो माध्यम भएकाले आफूहरुलाई काम गर्न सहज भएको बताउनुभयो ।
प्रदेश ३ को दोलखाको भीमेश्वर नगरपालिकाका सूचना अधिकारी जगदिश अर्यालले नगरपालिकाले गरेका हरेक कामका विषयमा रेडियोमार्फत् पनि जानकारी गराउने गरेको बताउनुभयो ।
अर्यालले भन्नुभयो, ‘हामीले नगरपालिकाको वयबसाइटसँगै आफ्ना गतिविधिहरु रेडियोमार्फत् पनि जानकारी गराउने गरेका छौं, जसले इन्टरनेटको पहुँमा नरहेका नागरिकलाई पनि सूचना पाउन सजिलो भएको छ । हामी नागरिकले सूचना माग्न धाएर आउन नपरोस् भन्ने चाहन्छौं ।’
कार्यक्रममा गण्डकी प्रदेशको वालिङ नगरपालिकाका सूचना अधिकारी दिल्लीराम चापागाईले नागरिकले पाउनुपर्ने सूचना सजिलै पाउन् भन्नका लागि सामदायिक रेडियोसँगको सहकार्य महत्वपूर्ण हुने र आफू त्यसका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा पाल्पाको तानसेन नगरपालिकाका सूचना अधिकारी भरतप्रसाद आचार्य, सुर्खेतको विरेन्द्रनगर नगरपालिकाका सूचना अधिकारी दिपेन सुवेदी र कैलालीको टिकापुर नगरपालिकाका सूचना अधिकारी रञ्जु आचार्यले अहिले पनि नगरपालिकाले सामूदायिक रेडियोसँग सहकार्य गर्दै कार्यक्रम मार्फत् नगरपालिकाले दिनुपर्ने सूचना र जानकारीहरु नागरिकसम्म पुर्याएको भन्दै नागरिकलाई स्थानीय सरकारसँग जोड्न रेडियोको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।
कार्यशालामा सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबका महासचिव गोविन्द देवकोटाले स्थानीय सरकारहरुले गरिरहेका नमूना र उदाहरणीय कामहरुलाई देशैभरि पुर्याउन रेडियोले महत्वपूर्ण भूमिका खेल्नसक्ने भएकाले रेडियो र स्थानीय सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
स्थानीय सरकारहरुले सुशासनका लागि सामुदायिक रेडियोसँग सहकार्य गर्ने भएका छन् । सुशासन कायम गर्न सामुदायिक रेडियोहरुसँग सहकार्य गर्दै अघि बढ्ने सातै प्रदेशका नगरपालिकाले प्रतिवद्धता जनाएका छन्
अकोराबका कार्यकारी निर्देशक बालकृष्ण पोखरेलले सामूदायिक रेडियो र स्थानीय सरकारको उद्देश्य एउटै भएकाले पनि सँगसँगै अघि बढ्नुपर्ने बताउनुभयो ।
समाज रुपान्तरण मुख्य उद्देश्य बोकेर हिडेका स्थानीय सरकार र सामूदायिक रेडियोको अहिलेसम्मको सहकार्य प्रभावकारी देखिएको भन्दै उहाँले आउँदा दिनमा त्यो सहकार्य निरन्तर हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
द एशिया फाउन्डेशनका वरिष्ठ कार्यक्रम अधिकृत नमित वाग्लेले लामो समयदेखिको सामुदायिक रेडियोसँगको सहकार्यले आफूहरुलाई काम गर्न उत्साहित बनाएको भन्दै आउँदा दिनमा पनि त्यो सहकार्य निरन्तर चल्ने बताउनुभयो ।
भूकम्पपछि देशका धेरै जिल्लामा आवश्यक सूचना प्रवाहका लागि सामुदायिक रेडियोहरुसँग सहकार्य गरिएको भन्दै उहाँले अब सुशासन र पारदर्शिताका लागि पनि सहकार्य अघि बढ्ने र यो प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यशालाको सहजीकरण सीआईएनका समाचार प्रमुख गोविन्द खड्का र अकोराबका कार्यक्रम व्यवस्थापक श्रीधर न्यौपानेले गर्नुभएको थियो ।
कार्यशालामा सातै प्रदेशका ७ वटा स्थानीय तह, सामूदायिक रेडियो र सुशासनको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको थियो । अकोराबको आयोजनामा भएको कार्यक्रममा द एशिया फाउन्डेशनको स्थानीय सरकार सबलीकरण कार्यक्रमको सहयोग रहेको थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६, १५:०६