काठमाडौं । नेपाली अभिभावकले आफ्ना छोराछोरीलाई भन्ने गर्छन्, नपढिस् भने हलो जोत्नुपर्ला । अर्थात् कृषि पेशा नपढेका मानिसहरुले गर्ने पेशा हो । आम धारणा यस्तै छ ।
किसानले कृषिकर्म छोडेभने, उत्पादन हुँदैन । उत्पादन नभएपछि मानिसहरु भोकभोकै पर्छन् । यो थाहा हुँदाहुँदै पनि कृषि पेशालाई सम्मान गर्ने चलन अझै बसिसकेको छैन ।
तर किसान बन्नकै लागि पढ्नेहरु पनि थपिन थालेका छन् । यस्तै मध्येका एकजना युवा उद्यमी हुनुहुन्छ, थाहा नगरपालिका ७ मकवानपुरका तारा स्याङ्तान ।
तारालाई बिहान उठेदेखि साँझ नपरुन्जेलसम्म कामबाट फुर्सद हुँदैन । स्याङ्तानले व्यावसायिक रुपमा कृषि थालेको ६ वर्ष भयो । ०७१ सालमा रोपेको किवी अहिले फल्न थालेको छ । ५० रोपनी जग्गामा ६ सय ५० बोट किवी छ । विषादी रहित तरकारी उत्पादन, सँगै व्यावसायिक रुपमा बाख्रा पालन पनि गरिरहनुभएको छ ।
उत्पादन भएको कृषिजन्य वस्तु, फलफूल र तरकारी विक्रि गर्न काठमाडौंमा आफ्नै ४ वटा विक्रिकेन्द्रहरु छन् । पशुजन्य उत्पादनलाई बजारिकरण गर्न मिटमार्ट पनि सञ्चालनमा ल्याउनुभएको छ ।
परम्परागत रुपमा कृषि पेशा अंगालेको परिवार ताराले २०६७ सालमा भेटेरेनरी जेटिए पढेपछि परिवार नै बदलियो कृर्षि उद्यमतिर ।
भाइ किशोर स्याङ्तानले पनि स्नातक पढेपछि कृषि जेटिए पढ्नुभयो । भाइ कृषि प्राविधिक, दाजु पशु प्राविधिक अब व्यावसायिक कृषिलाई अघि बढाउन झन सजिलो भयो । व्यावसायीक कृषि गरेको ६ वर्षमा आम्दानीबाट उहाँ सन्तुष्ट हुनुहुन्छ ।
तर यो अवस्थासम्म आइपुग्न त्यति सजिलो भने भएन । पढेर गाउँ फर्किदा मानिसहरुले गरेको टिप्पणी उहाँको मष्तिष्कमा ताजै छ ।
‘पढेर पनि के काम लाग्यो र, आखिर गाउँमै आएर घाँस काट्ने, मल बोक्ने भए ? बरु विदेश गएको भए राम्रो हुन्थ्यो ।’ – छिमेकका मानिसले भनेका यि कुराले सुरुमा त निराश बनाएको थियो ।
तारा भन्नहुुन्छ, ‘हामीलाई हेरेर अरु साना केटाकेटीलाई विद्यालय नपठाउलान् भन्ने डर भयो, कृषि गर्न पढ्नुपर्छ भन्ने सोंच अझै धेरैमा छैन ।’
ताराको सोंच छ, कृषिलाई पर्यटनसँग जोड्ने । जहाँ कृषि छ, त्यहाँ पर्यटनको अथाहा सम्भावना छ । खाली आवश्यकता छ त, मेहनत र धैर्यताको । अनि नयाँ सोंचको ।
बजारमा अहिले ७०० रुपैयाँ किलोमा किवि विक्रि भइरहेको छ । गएको वर्ष ५ सय केजी किवी विक्रि गर्नुभएका उहाँको यस वर्ष २० टन बेच्ने लक्ष्य छ । अब छिट्टै उहाँले फार्मस्टे पनि सञ्चालनमा ल्याउँदै हुनुहुन्छ ।
आफ्नो कामसँगै उहाँ कृषिमा आउन चाहने युवाहरुलाई व्यवसाय गर्दा पर्नसक्ने अप्ठ्यारो, पूरा गर्नुपर्ने प्रक्रिया, ऋण, अनुदान र नाफा घाटाका विषयमा सरसल्लाह पनि दिनुहुन्छ ।
कृषिमा आउन चाहने युवाहरुलाई ताराको एउटै आग्रह छ, बुझेर आउनुस्, कृषिमा अथाहा सम्भावना छ । भविष्य उज्वल छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६, १५:३४