काठमाडौँ । सरकारले सन् २०३० सम्म दिगो विकासका सबै लक्ष्य प्राप्त गर्ने गरी संयुक्त राष्ट्र सङ्घको सम्झौतामा हस्ताक्षर गरेको छ । संविधान जारी भएसँगै नेपालमा पनि दिगो विकास लक्ष्य पूरा गरेर मुलुकलाई सम्वृद्ध र विकसित बनाउन सम्झौता गरिएको हो ।
संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्यको अवधारणा अनुसार अबको ११ वर्षमा नेपालले १७ वटा लक्ष्य पूरा गर्नुपर्ने छ ।
गुणस्तरीय शिक्षा, स्वच्छ पिउने पानी, स्वास्थ्यको पहुँच, गरिबीको अन्त्य, सामुदायिक स्रोतको संरक्षण, भोकमरी अन्त्यलगायत १७ वटा लक्ष्य दिगो विकास अन्तर्गत पर्दछन् ।
संयुक्त राष्ट्र सङ्घमा आवद्ध १ सय ९३ मुलुकसँगै नेपालले पनि दिगो विकासका लक्ष्य पूरा गर्ने गरी हस्ताक्षर गरेको ४ वर्ष भयो । गैर सरकारी संस्था महासङ्घका अध्यक्ष जीवराम लामाले दिगो विकासका लक्ष्य हासिल गर्न सबै एक हुनुपर्ने सीआईएनसँग बताउनुभयो ।
सरकारको गति नबढे अबको ११ वर्षमा दिगो विकासको लक्ष्य पूरा हुनेमा आशङ्का रहेको आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, ‘जुन गतिमा सरकारको काम भइरहेको छ । त्यसरी अबको ११ वर्षमा दिगो विकासका लक्ष्य हासिल गर्न सम्भव छैन ।’
उहाँले भन्नुभयो, ‘स्वास्थ्य, शिक्षा, कृषि, ऊर्जालगायत क्षेत्रमा प्रगति गर्नु छ भने दिगो विकासको माध्यमबाट गर्न सकिन्छ । जसका लागि सरकारलाई मात्रै काम लगाएर हुँदैन ।’
संविधान जारी भएको ४ वर्ष र सरकार गठन भएको डेढ वर्ष भयो । दिगो विकास लक्ष्य कसरी हासिल गर्ने भन्ने योजना राष्ट्रिय योजना आयोगले बनाएको छ । तर आयोगले बनाएका योजनाहरू कार्यान्वयनको लागि आवश्यक संयन्त्र तथा ऐनहरू निर्माणमा ढिलाइ हुँदा समस्या भएको छ ।
सरकारको गति नबढे अबको ११ वर्षमा दिगो विकासको लक्ष्य पूरा हुनेमा आशङ्का रहेको आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘दिगो विकास लक्ष्य हाँसिल गर्न सरकारलाई नागरिकको साथ चाहिन्छ, सरकारले पनि गति बढाउनुपर्छ । ’
सीआईएनसँगको कुराकानीमा उपाध्यक्ष कँडेलले दिगो विकास लक्ष्य प्राप्त गर्न आयोगले योजना बनाएको मात्रै बनाएको उल्लेख गर्नुभयो । यसलाई कार्यान्वयन गर्न सरकार आफैँ गम्भीर भएर लाग्नु पर्ने उहाँको धारणा छ ।
दिगो विकास लक्ष्य हासिल गर्न तीन तहको सरकारको त मुख्य भूमिका हुन्छ नै अन्य सबै सरोकारवालाले पनि साथ दिनुपर्ने बताउनुहुन्छ, दलित गैर सरकारी संस्था महासङ्घका कार्यबाहक अध्यक्ष भक्त विश्वकर्मा ।
उहाँका अनुसार जसरी सरकारले दिगो विकास हासिल गर्ने लक्ष्य लिएको छ त्यसरी नै मुलुकका हरेक नागरिकले पनि यो मेरो लक्ष्य हो भनेर काम र सहयोग गर्नुपर्छ ।
दिगो विकासको निम्ति शान्तिपूर्ण र समावेशी समाजको प्रवर्धन गर्ने, न्यायमा सबैको पहुँच सुनिश्चित गर्ने र सबै तहहरूमा प्रभावकारी, जवाफदेही र समावेशी संस्थाहरूको स्थापना गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६, ०९:५१