सामान्य दूधको दही, मही, घिउ, पनिर, वटर, क्रिम लगायतका सयौँ परिकार बन्छ । तर बिगौती दूध किसानले बाँडेर वा मलखादमा फालेर चित्त बुझाउनुपरेको छ ।
पर्वत । पर्वतको कुश्मा नगरपालिका १२ का सरस्वती सुबेदीले सदरमुकाम कुश्मामा व्यवसायिक गाई पालन शुरु गरेको ५ वर्ष भयो । उहाँको गोठमा १८ वटा गाई छन् । कहिलेकाँही एकै पटक ५ वटा गाईसम्म सुत्केरी हुन्छन् । उहाँले बिगौती दूध छिमेकीलाई बाँडेर सक्नुहुन्छ, नसकिए मलखाद र जुठेल्नामा फाल्दै आउनुभएको छ ।
कुश्मा नगरपालिका २ खुर्कोटका हेमनाथ शर्माले २५ वर्षदेखि भैंसी पालन गर्दै आउनुभएको छ । गोठभरि भैंसी बाध्नुभएका हेमनाथले पनि एकैपटक भैसी सुत्केरी हुँदा बिगौती दूध खेर फाल्नु परेको र मनखत लागेको बताउनुभयो ।
सुत्केरी भैंसीको दूधको माग बजारमा छैन । डेरी उद्योगले पनि अरु दूध फाट्ने भएकाले सुत्केरी भएको १३ दिनसम्मको दुध किसानबाट खरिद गर्दैनन् । बिगौती दूधको माग र बिक्री नहुने भएकाले दुध डेरीले त्यस्तो दुध नलिने मोदीकाली दूग्ध डेरीका सञ्चालक दिनानाथ शर्माको भनाई छ ।
सामान्य दूधको दही, मही, घिउ, पनिर, वटर, क्रिम लगायतका सयौँ परिकार बन्छ । तर बिगौती दूध किसानले बाँडेर वा मलखादमा फालेर चित्त बुझाउनुपरेको छ ।
बिगौती दूध नियमित उपलब्ध नहुने र बजारीकरण गर्ने गरि धेरै परिमाणमा उपलब्ध नहुने भएकाले अमूल्य पोष्टिक तत्व भएर पनि बजार नपाएको हुन सक्ने भेटेरनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र वागलुङका प्रमुख शम्भुराज पाण्डेले बताउनुभयो ।
पशुपंक्षी विकास मन्त्रालयको तथ्यांक अनुसार नेपालमा गाईको संख्या ७३ लाख २८ हजार र भैँसीको संख्या ५१ लाख ६८ हजार ८ सय ९ छ । गाईभैँसी प्राय सुत्केरी हुने सिजन असार देखि असोज सम्म दैनिक सरदर २० हजार १ सय ६१ गाईभैसी सुत्केरी हुने देखिन्छ ।
एउटा पशुको दैनिक दूध उत्पादन १० लिटरको हिसाबले दैनिक २० लाख ७० हजार लिटर दूध उत्पादन हुन्छ । एक लिटर दूधको मुल्य ७० राखेर हिसाब गर्ने हो भने दैनिक १ करोड ६० लाखको बिगौती दूधले मुल्य नपाएको देखिन्छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६, ०८:३६