कृष्ण बिष्ट, रेडियो सेभेनस्टार, बैतडी
सबैजसो विद्यालय यतिबेला दशैं तिहारको बिदामा छन् । विद्यार्थीहरु पनि चाडबाडको बिदामा रमाइलोमै छन् ।
तर बैतडीको पाटन नगरपालिका वडा नं. ९ मा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु भने दशैं तिहारको बिदामा पनि दैनिक एक घण्टा समय विद्यालयलाई दिइरहेका छन् ।
उनीहरुले यो समय पढ्नका लागि छुट्याएका भने होइनन् । उनीहरु यतिबेला मैनबत्ती उत्पादन गरिरहेका छन् । त्यो पनि मैनबत्ती बिक्रि गरेर निजी शिक्षकका लागि आवश्यक पारिश्रमिक जोह गर्न ।
अभिभावकहरुबाट बर्षेनी चन्दा संकलन गरेर विद्यालय चलाउनुपर्ने समस्या भएपछि यस विद्यालयले विद्यार्थीहरुलाई सीप सिकाउन थालेको हो । विद्यार्थीको सीप विकाससँगै आर्थिक लाभ पनि होस् भनेर दशैं तिहारको बिदामा मैनबत्ती उत्पादन गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयको आर्थिक अवस्था कमजोर छ तर शैक्षिक क्षेत्रमा नमुना काम गरिरहेको यो विद्यालय खानेपानी तथा सरसफाई सुविधाको आधारमा जिल्लाको पहिलो थ्रि स्टार विद्यालय बनेकोे छ ।
मैनबत्ती बनाउन सबै साथीहरु सहभागी भएको र आफूलाई पनि काम गर्न रमाइलो र खुशी लागेको कक्षा ८ का छात्र अरुण साउदले बताउनुभयो ।
आफूहरुले बनाएको मैनबत्ती छिमेकी बजारमा बिक्रि गरेर निजी श्रोतमा कार्यरत शिक्षकहरुको तलब खुवाउन सहयोग पुग्ने कक्षा ७ का छात्र बल्देव लुहारले बताउनुभयो ।
काठमाण्डौंबाट २०७ केजी मैन, ५ सेट साचा, आवश्यक प्लाष्टिक, रंग र धागो खरिद गरी विद्यालयमा मैनबत्ती बनाउने काम भइरहेको विद्यालयले जनाएको छ ।
करिब ६५ हजारको लगानी गरि विद्यालयले एक दर्जनको १५, २५, ३५, ४५, ५० र ७५ रुपैयाँमा बिक्रि हुने साना तथा मझौला खालका १८ सय ५० वटा मैनबत्तीका प्याकेट उत्पादन गरिसकेको छ ।
विद्यार्थीहरुले उत्पादन गरेको मैनबत्ती छिमेकी खोड्पे, बचपानी, ढोल्यामोड, श्रीभावर, गाजरी पाटन, हतास लगायतका बजारमा लगेर विक्रि गरिएको र आएको रकमबाट निजी श्रोतका शिक्षकहरुलाई पारिश्रमिक खुवाउने विद्यालयका शिक्षक लाल सिंह महराले जानकारी दिनुभयो ।
वि.स. २०१८ सालमा स्थापना भएको यस विद्यालयमा कक्षा १० सम्मको पठनपाठन भइरहेको छ । विद्यालयमा हाल ३०५ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।
विद्यालयमा शिशु कक्षा, पूर्व प्राथमिक र कक्षा १ देखी १० सम्म दैनिक १२ वटा कक्षा सञ्चालन भइरहेको छ ।
तीनजना प्राथमिक स्थाई र एकजना प्राथमिक राहत गरि चार जना नेपाल सरकारबाट दरबन्दी रहेको छ भने ८ जना शिक्षक निजी श्रोतमा काम गरिरहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६, ११:५२