नेपालको गणतन्त्र, सङ्घीयताका बारेमा बिभिन्न मुलुकका प्राध्यापक तथा बुद्धिजीवीहरुले फरकफरक धारणा सार्वजनिक गर्छन् । नेपालका राजनीतिक दलहरुबीचको साझा सहमतिमा आएको गणतन्त्र र कार्यान्वयनमा गएको सङ्घीयताका बारेमा यहाँका नेताहरुको विचार पनि बाझिने गरेको छ । यसै सन्दर्भमा नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले कुराकानी गरेको छ । सीआईएनका सम्पादक गोबिन्द खड्काले प्रचण्डसँग गर्नुभएको कुराकानीः
तपाईँ भन्नुहुन्छ, ‘गणतन्त्रको सपना पूरा भयो ।’ तर पनि तपाईँ बेलाबखत भनिरहनुहुन्छ, ‘सोचेजस्तो भएन ।’ कसरी हेर्नुहुन्छ गणतन्त्रलाई ?
अब , पहिलो कुरा त नेपालमा अहिले संविधानसभाबाट संविधान बन्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बन्ने कुरा आफैँमा दुरगामी महत्वको राजनीतिक परिघटना पक्कै पनि हो ।
यो ऐतिहासिक महत्वको राजनीतिक पहलकदमी पनि हो । त्यस अर्थमा मलाई गर्व छ । नेपाल गणतन्त्रको एउटा नयाँ युगमा प्रवेश गर्यो। तर जनताले यो गणतन्त्रबाट जे–जस्तो राहत, परिणाम, सुविधा, मुक्ति खोजेका हुन्, त्यो अझैँ प्राप्त भएको अनुभूति जनताको तहमा भएको छैन ।
त्यसकारण गणतन्त्रलाई संस्थागत गर्न, गणतन्त्रलाई अझै बढी जनतामूखी बनाउने, जनताको आवश्यकता र भावनालाई सम्बोधन गर्न धेरै मेहनत गर्न बाँकी छ, भन्ने मलाई लाग्छ ।
म देशभरिका सम्पूर्ण परिवर्तनकारी र न्यायपे्रमी जनसमुदायलाई धर्यतापूर्वक गणतन्त्रको उज्यालो सबैतिर पुर्याउनको लागि मेहनत गर्न अपिल गर्न चाहान्छु ।
यो नयाँ सिस्टम भएकाले, नयाँ सिस्टम कार्यान्वयनमा केही जटिलता, केही अप्ठ्यारा, केही नमिले जस्तो हुनु अस्वाभाविक होइन । इतिहासमा संसारभरि सामन्तवाद, राजतन्त्रबाट गणतन्त्रमा गएका मुलुकहरूमा केही वर्ष अलि सहज हुन नसकेको महसुस हुने गरेको छ ।
हिजो जनयुद्धमा एउटा परिवर्तनको अभियानको नेतृत्व गर्नुभयो । त्यसपछाडि शान्ति प्रक्रियामा आएपछि सिङ्गो सरकारको नेतृत्व गर्नुभयो । अहिले सरकार सञ्चालन गर्ने पार्टीको नेतृत्वमा हुनुहुन्छ । हिजो तपाईँले जनयुद्धको अभियानमा लाग्दै गर्दा, त्यसपछि प्रधानमन्त्रिको कुर्सीमा पुग्दा र अहिले पार्टिका हिसाबले सरकार सञ्चालन गरिरहँदा, तपाईँले ‘अब केही समय पर्खनुहोस्, गणतन्त्रको उज्यालो आउँछ है ।’ भन्नुभएको छ । तपाईँको राजनीतिक यात्रामा कहिलेसम्म नागरिकले त्यो उज्यालो देख्छन् भन्ने सोचिरहनुभएको छ ?
मलाई लाग्छ, अहिले हामीले राजनीतिक रूपमा जुन परिवर्तन र उपलब्धि हासिल गरेका छौँ त्यो आर्थिक समृद्धिमा रुपान्तरण र अनुवाद हुनुपर्ने हुन्छ ।
जनतालाई परिवर्तन सकारात्मक छ भन्ने अनुभुति गराउनुपर्ने हुन्छ । अहिले हाम्रो पार्टी सरकारको नेतृत्वमा छ ।
हामीले पहिलो वर्षलाई आधार वर्ष र अब विकासले गतिलिने वर्ष भनेका छौँ । अबचाँहि पाँच वर्ष पुग्दासम्म सबै पूर्वाधारहरू निर्माण भैसक्छ र १० वर्षमा हामी विकासशील देशको दाँजोमा पुग्छौँ भन्ने सपना जो बनाईएको छ ।
मलाई लाग्छ, त्यही अनुसार सबै कुरा अगाडि बढ्छ ।
गणतन्त्रको अभ्यासमा सङ्घीयतालाई तपाईँहरुले गाउँसम्म पुर्याउनुभयो । अहिले गाउँगाउँमा, घरदैलोमा सरकार छन् । गणतन्त्रमा गणहरू बलियो हुनुपर्ने तर ती गणहरूले कहिलेकाही ‘सङ्घीय सरकार हामीमाथी हावी भयो ।’ भनेर गुनासो गरिरहेका छन् । तपाईँहरूले गणहरूलाई बलियो बनाउन नसकेकै हो ?
त्यो कुरा सत्य होइन । मेरो विचारमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने प्रक्रियामा जसरी हामीले स्थानीय तह, प्रदेश तह र केन्द्रीय तह भनेर सिंहदरबारमा केन्द्रित भएको अधिकारलाई प्रत्यायोजन गर्ने र जनताको घरदैलोमा पुर्याउने प्रक्रिया सुरु भएको छ ।
अहिले राम्रो समीक्षा त भैसकेको छैन । तर स्थानीय तहले नराम्रो गरे भन्ने चाँहि मलाई लाग्दैन । अहिले ७ सय ५३ वटै स्थानीय तहले बाटोघाटो, शिक्षा, स्वास्थ्य, रोजगारीमा धेरै काम गरेका छन् । त्यसको समीक्षा हुनै बाँकी छ ।
मैले भन्न खोजेको जो गणहरू छन्, उनीहरूले नै हामी कमजोर भयौँ, भनेर सिंहदरबारमा नै गुनासो गरिरहेका छन् ।
त्यसमा के छ भने संविधानमा जुन मर्म र भावनाको साथ अधिकारको बाँडफाँड गरिएको छ, अधिकारको सूची बनाइएको छ स्थानीय तह र प्रदेशको लागि ।
त्यो कार्यान्वयनमा देखिएका केही जटिलता त हुन्, ती समयको साथमा समाधान हुन्छन् । तलका गणहरूले अन्ततः आफूले अधिकार प्राप्त गरेको र जनताले पनि परिणाम प्राप्त गरेको अनुभूति हुन्छ ।
नेकपाभित्रबाट सङ्घीयता, गणतन्त्रको दृष्टिकोणमा फरक फरक कुरा आइरहेको हुन्छ । प्रधानमन्त्रीले धादिङमा भएको कार्यक्रममा, ‘प्रदेश र स्थानीय सरकार सङ्घीय सरकारका शाखाहरू हो ।’ भन्नुभयो । केही नेताहरूका फरक फरक कुराहरू आइरहेका हुन्छन् । यो वैचारिक विचलन हो कि दृष्टिकोणको अस्पष्टता ?
प्रधानमन्त्री जीले कुन प्रसङ्गमा कत्ति भन्नुभयो, म आफैँले त सुनेको छैन । तर म के कुरा प्रष्ट गर्न चाहान्छु भने हामी सङ्घीयतामा छौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौँ ।
त्यसअनुसारको संविधान बनेको छ । प्रदेशहरू र स्थानीय तहहरू आफै अधिकार सम्पन्न पनि छन् तर फेरि प्रदेश र स्थानीय तह वा सङ्घीयता अलग अलग राष्ट्र भने होइनन् ।
नेपाल राष्ट्रकै अङ्ग हुन्भन्दा त त्यो गल्ती हुँदैन । कुरा बुझ्नुभो, त ? एउटै संविधानद्वारा निर्देशित अङ्गहरू हुन् । राष्ट्रका सात वटा प्रदेश, सात वटा राष्ट्र भने होइनन् ।
यदि सङ्घीयताका शाखा हुन् भनेर बुझ्नुचाँहि गलत हो ?
गलत हो, त्योचाँहि गलत हो । संविधानले दिएको सीमाभित्र तिनीहरू आफ्नो काम गर्ने अधिकारमा सम्पन्न छन् । आफ्नो बारेमा फैसला गर्न पनि संविधानको सीमाभित्र स्वतन्त्र छन् ।
त्योसँग जोडिएको नेकपाको दृष्टिकोण अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जे बोलिरहनु भएको छ ,जे बोल्नु हुन्छ । त्यही हो ?
मेरो विचारमा हामीले परिवर्तनलाई जुन रूपमा आत्मसात गरेर अगाडि बढ्यौँ, मैले जे भनिराखेको छु, संविधानको भावना पनी त्यही हो । सङ्घीय लोकतन्त्र, गणतन्त्रको पनि भावना त्यही हो भन्नेमा म विश्वस्त छु ।
कहिलेकाहीँ तपाईँले गणतन्त्र खतरामा छ भन्नुहुन्छ । खासमा कोबाट, कसरी गणतन्त्र खतरामा पर्यो ? यहाँलाई कसरी महसुस भयो खतराको ?
यो प्रश्नको उत्तर लामो हुन्छ तर पनी म त्यतातिर लाग्दिन ।
गणतन्त्रमा खतरा एउटा कुनै शक्ति विशेषबाट, व्यक्ति विशेषबाट छ भन्ने मलाई लाग्दैन । यो जनतामा झाङ्गिएर गएको छ । संविधान बन्यो, निर्वाचन भयो, सरकार गठन भए, जनताको अपार समर्थन छ, त्यसकारण कुनै व्यक्तिबाट खतरा भयो भन्न मैले खोजेको होईन ।
तर यसको अभ्यास गर्ने हामीहरूले नै त्रुटि गर्यौँ भने सबैभन्दा पहिलो खतरा, संविधानको भावना र मर्मअनुसार जनतालाई, हामीले परिणाम दिन सकेनौँ भने, सबभन्दा पहिलो खतरा यहीँबाट हुन्छ ।
दोस्रो कुरा हिजो राजतन्त्रमा विभिन्न किसिमका सहुलियत, सुविधा लिएर बसेको वर्ग यो असफल भैदिए हुन्थ्यो भन्ने चाहीरहेको छ । चाहेको मात्र छैन, त्यसले खेलीरहेको छ । नेपालमा गणतन्त्र कम्युनिस्टहरूको नेतृत्वमा आयो ।
अझ भन्ने हो भने, माओवादी जनयुद्धसँग जोडिएर आयो गणतन्त्र, सङ्घीयता, समानुपातिकका कुरा, समावेशिता । योचाँहि प्रतिक्रियावादी वर्गलाई मीठो लाग्दैन । कम्युनिस्टहरूसँग जोडिएर आउने, माओवादीहरूको तर्फबाट आयो, जनयुद्धमार्फत आयो ।
त्यो कुरा स्वीकार्न मन लाग्दैन । त्यो कुरा मेट्ने चाहाना त्यो वर्गको भइराखेको हुन्छ । त्यसैले हामी सबै ठीक छ भनेर आँखा चिम्लिएर हिड्न हुँदैन भन्ने खोजेको हो मैले । सजग हुनुपर्छ भन्न खोजेको हो । सतर्क हुनुपर्छ, भनेर मैले यी विभिन्न पक्षलाई विचार गरेर भनेको हो ।
भिडियो कुराकानी हेर्नुहोस्ः
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६, १६:१३