धनकुटा ।
स्थानीय जातको सयपत्री फुल्न ढिलाइ भएपछि तिहारका लागि सयपत्री र मखमली फूलको खेती गरेका धनकुटाका किसान उत्साहित हुन सकेका छैनन् ।
धनकुटाका विभिन्न ग्रामिण भेगका किसानले लगाएको उन्नत जातको सयपत्री ढकमक्क फुलेको छ । तर स्थानीय जातको सयपत्री अझै फुलेको छैन ।
१३ रोपनी जमिनमा लगाएको स्थानीय जातको सयपत्री ३० प्रतिशत मात्रै फूलेपछि धनकुटा ३ सेउलेका नगेन्द्र घिमिरे निराश हुनुहुन्छ ।
तिहारमा बेच्नका लागि लगाएको सयपत्री नफूलेपछि उहाँका छिमेकी गजेन्द घिमिरे पनि खुशी हुन सक्नुभएको छैन ।
उहाँले चार रोपनी जमिनमा सयपत्री र मखमली फूल लगाउनुभएको छ ।
मखमली ढकमक्क भएपनि सयपत्रीमा भर्खर कोपिला मात्रै लाग्दैछ ।
के कारणले फूल फुल्न ढिलाइ भयो भन्ने विषयमा किसान जानकार छैनन् । यसपटक उन्नत जातको सयपत्री खेती गर्नेहरु भने उत्साहित भएका छन् ।
उन्नत जातको सयपत्री खेती गर्नुभएका धनकुटा पाँच कर्मिटारका गोविन्द श्रेष्ठ कुनै वर्ष फूल निकै राम्रो हुने र कुनै वर्ष कमजोर हुने बताउनुहुन्छ । यसवर्ष भने फूल उत्पादन निकै राम्रो भएको उहाँको भनाइ छ ।
कोपिला लाग्ने समयमा आवश्यकता भन्दा बढि वर्षा भएकाले स्थानीय जातको सयपत्री नफक्रिएको किसानको अनुमान छ ।
कतिपय किसानले भने राम्रो बीउ र खेतीको तरिका नजान्दा पनि मेहेनत खेर गएको छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: सोमबार, कात्तिक ११, २०७६, १०:००