शारदा केसी, रेडियो परिवर्तन, कपिलवस्तु ।
कपिलवस्तुका कोहार र कसघड समुदायका नागरिक यतिबेला माटाका सामाग्री बनाउन व्यस्त छन् ।
माटोकोे दियो, गागरो, घण्टी, पाला, जातो, नदिया, सिंगारदान, चुलोसमेत बनाएर उनीहरुले आम्दानी गर्दै आएका छन् । तर बनिबनाउ सामग्रीको प्रयोग बढेपछि भने उनीहरू चिन्तित छन् ।
कपिलवस्तुको शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका, शुद्धोधन गाउँपालिका लगायतका ठाउँमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीका कोहार र मुस्लिम धर्मावलम्बीका कसघड जातीका नागरिक ठूला चाडबाडका बीच माटाका सामग्री बनाउन अहिले व्यस्त छन् ।
उनीहरुले ६० वर्षदेखि माटोका सामग्रीहरु बनाउँदै आएका छन् । दियो, पाला, गागरो र घण्टीहरू बनिबनाउ आउन थालेपछि भने चिन्ता लाग्न थालेको रामकरन कोहारको भनाइ छ ।
१० वर्षअघिसम्म बत्ती, बल्ब तथा स्टिल र प्लास्टिकका भाँडाकुडाको प्रयोग धेरै नहुँदासम्म घरमै ग्राहक आउँथे । काम गर्न भ्याई नभ्याई हुन्थ्यो तर विद्युतीय सामग्रीको कारण आम्दनीसमेत कम भएको बताउनुहुन्छ, सपोट कोहार ।
राष्ट्रिय जनगणना २०६८ का अनुसार परम्परागत पेशा गरेर यहाँका करिब तीनसय घरपरिवारका कोहार र कसघड समुदायले बालबालिकालाई शिक्षाको व्यवस्था गर्थे र घरपरिवार चलाउन पनि सजिलो थियो ।
अहिले भने शिक्षादीक्षा र लालनपालनमा समस्या हुन थालेको स्थानीय मदन कोहाँर बताउनुहुन्छ ।
दशैं, तिहार तथा छठ लगायतका चार्डपर्वमा डेढ – दुई महिना माटोको भाँडा बनाउन भ्याइनभ्याइ हुन्थ्यो । तर परम्परादेखि गर्दै आएको पेसा जोगाइराख्नका लागि कसैले सहयोग नगरेको कोहार र कसघड समुदायका नागरिकको गुनासो छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बुधबार, कात्तिक १३, २०७६, १०:१२