काकरभिट्टा ।
चाडपर्वको अवसरमा विद्यालय बिदा भएपछि बालबालिका फुर्सदिला बन्छन् ।
कतिपय अविभावकले आफ्ना छोराछोरीलाई घुमाउन लैजान्छन् भने कतिपयले घुम्ने घुमाउने फुर्सद पनि पाउँदैनन् ।
झापा काकरभिट्टाका बालबालिकाले यस पटकको बिदामा थियटर र नाटक बारे नौलो अनुभव बटुले । १० दिनसम्म चलेको कार्यशालामा बालबालिकाले सृजनशील बन्ने अवसर पाए ।
विद्यालय बिदा भएको समयमा फुर्सदिला बनेका बालबालिकालाई लक्षित गरि स्थानीय परिवर्तन थियटरले गीत संगीत, नाटक, विभिन्न खेलका साथै कार्यक्रम सञ्चालन तथा उद्घोषणको सीप सिकाएको हो ।
स्थानीय नर्थ प्वाइन्ट अंग्रेजी माविको कक्षा ३ मा अध्ययनरत विद्यार्थी सविन गदालले कार्यशालामा धेरै कुरा सिक्न पाएको बताउनुभयो ।
कार्यशालामा सहभागी एञ्जल निरौलाको पनि सविनको जस्तै अनुभव छ । निरौलाले भन्नुभयो, ‘मैले धेरै कुरा सिकें, नाटक सिकें, चित्रहरु बनाउन सिकें, कार्यक्रम सञ्चालन गर्न सिकें, नृत्य र अझै धेरै कुरा सिकें । ’
बालबालिकाहरु बिहान ११ बजेदेखि ४ बजेसम्म कार्यशालामा सहभागी हुने गरेका थिए । पहिलो पटक सञ्चालन गरिएको यस प्रकारको कार्यक्रमले बालबालिकाहरुमा सकरात्मक प्रभाव पारेको छ ।
कार्यशालामा काकरभिट्टा क्षेत्रका १३ जना बालबालिका सहभागि थिए । स्थानीय हिलारी पोर्तेल र अंकित निरौला नयाँ नयाँ विषय सिक्न पाउँदा निकै खुशी लागेको बताउनुहुन्छ ।
बालबालिकाहरुको बिदाको समयको सदुपयोग गरेर उनीहरुलाई नयाँ कुरा सिकाउने उद्देश्यले कार्यशालाको आयोजना गरिएको हो । परिवर्तन थिएटरका अध्यक्ष कविता नेपाल विद्यार्थीहरुको छुट्टीको सदुपयोग गर्दै कार्यक्रम गरिएको बताउनुहुन्छ ।
नेपालले भन्नुभयो, ‘टेलिभिजनमा व्यस्त हुन्छन्, मोबाइलमा व्यस्त हुन्छन्, बरु त्यो समयलाई सदुपयोग गर्दा त उनीहरुलाई अलि सृजनशील बनाउन सकिन्छ नि ।’
बिदाको समयको सहि सदुपयोग हुने र साना नानीहरुले नयाँ कुरा सिक्ने भएकाले अभिभावक पनि यस्तो कार्यक्रमबाट निकै खुशी भएका छन् ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बुधबार, कात्तिक १३, २०७६, ११:११