कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । कृष्णनगर बजार क्षेत्रमा लक्ष्मी पूजाको मूर्ति बिर्सजन गर्ने विषयमा स्थानीयबीच विवाद भएपछी झडप भएको थियो ।
विवादपछि गोली चल्दा एकजनाको मृत्यु भएको हो । प्रहरीले चलाएको गोली लागेर मृत्यु हुने सुरज पाण्डे भारतमा घर भई नेपालमा चियाको व्यापार गर्ने रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगरमा विहान ११ बजेदेखि कर्फ्यु लगाएको छ ।
लक्ष्मी पूजाको मूर्ति बिर्सजन गर्ने विषयमा दुई समुदायबीच हिजोबाट सुरु भएको विवादले उग्र रुप लिएपछि झडप भएको थियो । थप घटना नहोस् भन्नका लागि कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।
झडपमा परी केहि स्थानीय र प्रहरी घाइते भएका छन् । विषय सामान्य भए पनि विवाद उत्कर्षमा पुगेकोले अवस्था जटिल बनेको प्रहरीको भनाइ छ । प्रहरीले झडपलाई नियन्त्रण लिन बुधबार ५० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।
आज विहान जिल्ला प्रशासनले कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ सातसय मिटर, पश्चिमतर्फ सातसय मिटर र पूर्वतर्फ तीनसय मिटरमा करंफ्यु लगाएको हो । कर्फ्युको अवज्ञा गरे कानुन बमोजिम कारबही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कर्फ्यु कहिलेसम्म लगाइएको भन्ने बारेमा केही खुलाइएको छैन ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६, १२:५६