रेडियो साथी, काकरभिट्टा/झापा ।
भारतसँग सीमाना जोडिएको इलामको माइजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिका क्षेत्रमा पर्ने जौवारी क्षेत्रका स्थानीयको बसोबास नेपालमा छ । तर उनीहरुको दैनिकी भारतको बजारमा निर्भर छ ।
इलामको जौवारी क्षेत्रमा बसोबास गर्ने नेपालीलाई भारत तर्फको बजारमा निर्भर हुनु परेको छ ।
नेपालतर्फ यातायातको असुविधाका कारण जौवारी क्षेत्रका स्थानीय दैनिक उपभोग्य सामग्रीदेखि स्वास्थ्य उपचार र अध्ययनका लागिसमेत सीमावर्ती भारतका बजारहरुमा जाने गर्छन् ।
जौवारीका स्थानीय निम्लाबु बस्नेत यातायातको असुविधाका कारण औषधि उपचारदेखि नुन तेलसम्मका लागि भारत जानुपर्ने बाध्यता रहेको बताउनुहुन्छ ।
बस्नेतले भन्नुभयो, ‘गाडिको असुविस्ता छ यहाँ, हामी सबै इन्डिया जानुपर्छ । दबाइपानी चाहियो त्यतै, अरु केही सामान चाहियो त्यतै, नुनतेल चाहियो त्यतै । पढाउन पनि त्यतै । छैन यहाँ, केही छैन ।’
नेपालतर्फ यातायातको असुविधाका कारण जौवारी क्षेत्रका स्थानीय दैनिक उपभोग्य सामग्रीदेखि स्वास्थ्य उपचार र अध्ययनका लागिसमेत सीमावर्ती भारतका बजारहरुमा जाने गर्छन् ।
नेपालमा जग्गा राम्रो भएपनि सुविधा भने केही नभएको उहाँ बताउनुहुन्छ । नेपालतर्फ सडकको सुविधा छैन । जौवारीमा करिब एकसय ५० जनसङ्ख्या छ । तर एउटा स्वास्थ्य चौकी पनि छैन ।
जौवारीका स्थानीयलाई इलाम बजार पुग्नुभन्दा सिमावर्ती भारतका बजारहरु मानेभञ्जाङ, सुकिया, सिमाना जस्ता ठाउँमा जान पायक पर्छ । बिरामी हुँदा भारतिय अस्पताल जानुपर्ने बाध्यताले खर्च पनि धेरै लाग्ने स्थानीयको गुनासो छ ।
स्थानीय कुमार बस्नेत आर्थिक अवस्था कमजोर भएका नागरिकको बसोबार रहेकाले महङ्गो रकम तिरेर उपचारका लागि जान समस्या हुने बताउनुहुन्छ ।
जौवारीमा भएको प्राथमिक विद्यालयमा नियमित पढाइ हुँदैन । नजिकैको नयाँ बजारमा रहेको विद्यालयसम्म पुग्न यातायातको सुविधा छैन । स्थानीय पासाङ शेर्पा, बालबालिकाहरुको पढाइ पनि भारतमा निर्भर हुने गरेको बताउनुहुन्छ ।
शेर्पाले भन्नुभयो, ‘स्कुल छ तर यातायातको असुविधा छ । यहाँका सबै नानीहरु दार्जलिङमै पढ्छन् । ’
माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँ बजारसम्म सडकको सुविधा पुगेको छ । जौवारीका नागरिकले सडक, विद्यालय, स्वास्थ्य चौकी र आधारभूत संरचनाको व्यवस्था गरिदिन स्थानीय सरकारसँग आग्रह गरेका छन् ।
माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँ बजारसम्म सडकको सुविधा पुगेको छ । जौवारीका नागरिकले सडक, विद्यालय, स्वास्थ्य चौकी र आधारभूत संरचनाको व्यवस्था गरिदिन स्थानीय सरकारसँग आग्रह गरेका छन् ।
माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई स्थानीय सरकार गठन भएपछि भारतको परनिर्भरता कम गर्ने प्रयास शुरु भएको बताउनु हुन्छ ।
राईले भन्नुभयो, ‘आवश्यक बाटोहरु बनाएर भारतसँगको परनिर्भरतालाई कम गर्ने प्रयास गरिरहका छौं । अब नेपालको बजार, व्यापार र बाटोलाई स्थानीय बनाएर अघि बढ्ने हाम्रो लक्ष्य छ ।’
नेपाली नागरिक भएर दैनिक जीवनमा भारतको भर पर्नुपर्ने अवस्थाको अन्त्य गरिदिन जौवारी क्षेत्रका नागरिकले सरकारसँग विशेष आग्रह गरेका छन् ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६, ०८:५४