केश विष्ट, रेडियो केदार, देउरा/बझाङ ।
बझाङको केदारस्युँ गाउँपालिकको मुख्य व्यापारीक केन्द्र रहेको देउरा बजार, बजारको रुपमा बिस्तार भएसँगै फोहोर पनि बढ्दै गएको छ ।
तर फोहोर व्यवस्थापन नहुँदा बजार कुरुप मात्रै बनेको छैन, बजारबासीलाई स्वास्थ्यको जोखिम पनि बढेको छ ।
गाउँपालिकाको पनि मुख्य व्यापारीक केन्द्र भएसँगै देउरामा बजार बिस्तार हुँदै गएको छ ।
जनसङ्ख्या बढ्दै जानु र बजार आउने जानेहरुको सङ्ख्या पनि बढेसँगै बजारमा फोहोर बढ्दै गएको हो । तर फोहोर व्यवस्थापनको उचित संयन्त्र छैन ।
स्थानीय कलक बहादुर विष्ट फोहोर फाल्ने ठाउँ नभएको बताउनुहुन्छ । बजार व्यवस्थापन समिति वा गाउँपालिकाले प्लाष्टिककै भाँडा भएपनि ठाउँ ठाउँमा राखिदिए सजिलो हुने उहाँ बताउनुहुन्छ ।
देउरा बझाङको मात्रै नभई डोटी र बैतडी जिल्लाको पनि प्रमुख बजार हो । बजारमा बढ्दै गएको फोहोरलाई व्यवस्थापन गर्न स्थानीय सरकारले चासो नदेखाएको स्थानीय हरी रोकायाले गुनासो गर्नुभयो ।
बजारको छेउमा सेती नदी र कालंगा खोला बग्दछ । बजारको फोहोर नदीमा फाल्दा नदी फोहोर हुने क्रम पनि बढेको छ ।
बजारको फोहोर व्यवस्थापनमा गाउँपालिकाले केही सोचेको छ ? गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारी हरेक वर्ष बजारका लागि बजेट छुट्याएको बताउनुहुन्छ ।
देउरा बजार व्यवस्थापन समितिका अध्यक्ष जीवन भण्डारी भने सार्वजनिक ठाउँलाई सबै मिलेर संरक्षण गर्नुपर्ने बताउनुहुन्छ । एकजनाको मात्रै प्रयासले बजारको फोहोर व्यवस्थापनको काम सम्भव नभएको उहाँको भनाइ छ ।
देउरामा सरकारी कार्यालय र अस्पताल पनि भएकाले मानिसहरुको चाप छ । तर बजारमा एउटासम्म पनि सार्वजनिक शौचालय छैन ।
सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लाका बजारहरुमा फोहोर व्यवस्थापनको समस्या देखिन्छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६, १०:०९