काठमाडौँ । ललितपुरको नख्खुटोल २५ बस्ने दिनेश केसी दिनहुँ लगनखेल–कुपन्डोलको यात्रा माइक्रोमा गर्नुहुन्छ । कुपन्डोलबाट लगनखेलसम्मको भाडा १३ रुपैयाँ हो तर उहाँ १५ रुपैयाँ तिर्नुहुन्छ । २ रुपैयाँ ? २ रुपैयाँ न गाडीवालाले फिर्ता दिन्छ न त उहाँले माग्ने गर्नु भएको छ ।
केसीले दिनमा ८ रुपैयाँ तोकेकोभन्दा बढी भाडा तिरिरहनुभएको छ । काठमाडौँको न्यूनतम भाडा १५ होइन १३ रुपैयाँ हो । दुरीअनुसार बढीमा २४ रुपैयाँ तिर्नुपर्छ । विद्यार्थीका लागि १० रुपैयाँ भाडा लिने गरिए पनि खास भाडा ८ रुर्पैयाँ हो । कुनै पनि यात्रुले तोकेकोभन्दा धेरै भाडा तिरिरहेका छन् ।
तपार्इँ सार्वजनिक यातायातमा यात्रा गर्नुहुन्छ ? दैनिक कति पटकजति गाडी चढ्नुहुन्छ ? काठमाण्डौँमा गाडी चढ्नु भएको छ भने हरेक पटक भाडा तिर्दा ठगिनु भएको छ । सार्वजनिक सवारीका साधनमा राजधानीमा मात्रै दिनमा ३ करोडभन्दा बढी ठगी भइरहेको, सरकारले मौनता देखाएको चालपाउँदा तपाईँलाई उदेक लाग्न सक्छ ।
खोटाङका रमेश भुजेलले काठमाडौँमा माइक्रो चलाउन थालेको ५ वर्ष भयो । दिनमा १० पटकसम्म यहाँका सडकमा ओहोरदोहोर गर्नुहुन्छ । एक पटमा २२ जनासम्म मान्छे हुन्छन्, तर उहाँ पनि तोकिएभन्दा बढी नै भाडा यात्रुबाट लिनुहुन्छ । किन ? रमेशको छोटो जवाफ आयो, ‘चानचुन हुँदैन ।’
‘कति किलोमिटरको यात्रा गर्दा लाग्ने भाडा कति ?’ सार्वजनिक गाडीमा यात्रा गर्दा प्रायः सबै यात्रुको मनमा यस्तो प्रश्न घुमिरहन्छ । भाडादर गाडीमा टाँस्नुपर्ने नीति सरकारले बनाएको छ तर काठमाडौँमा चल्ने सार्वजनिक सवारीसाधन मध्ये झन्डै ९० प्रतिशतले भाडादर टाँसेका छैनन् ।
जसले टाँसेको छन् उनीहरूले पनि टाँसेको भाडादरभन्दा धेरै पैसा उठाउने गरेका छन् । सरकारले काठमाडौँ उपत्यकाको सहरी क्षेत्र र अन्य क्षेत्रमा सञ्चालन हुने सबै किसिमका यात्रुबाहक सवारी साधनको भाडादर न्यूनतम १३ देखि अधिकतम २४ रुपैयाँसम्म तोकेको छ ।
४ किलोमिटरसम्मको १३ रुपैयाँ, ५ किलोमिटरको १५, ६ किलोमिटरसम्मको १६, ८ किलोमिटरसम्मको १७, १० किलोमिटरसम्मको १९ रुपैयाँ तिर्नुपर्छ । १३ किलोमिटरसम्मको २१ रुपैँया, १६ किलोमिटरसम्मको २२, १९ किलोमिटरसम्मको २३ र १९ किलोमिटरभन्दा बढी यात्रा गर्दा २५ रुपैयाँ तिर्नुपर्ने हुन्छ । तर यात्रुले तोकिएको भन्दा बढी नै भाडा तिरिरहेका छन् ।
यात्रुलाई एक रुपैयाँ ठगे मात्रै पनि कारवाही हुने कानुनी व्यवस्था छ । ट्राफिक प्रहरी प्रवक्ता राजकुमार लम्सालका अनुसार त्यसका लागि नजिकको ट्राफिक प्रहरीलाई यात्रुले खबर गर्नुपर्छ । ‘यात्रुले आफू ठगीएको कुरा सडकमा भएका ट्राफिक प्रहरीलाई भने पनि हुन्छ या १०३ नम्बरमा फोन गरेर जानकारी गराए पनि हुन्छ ।
नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका अनुसार काठमाडौँ उपत्यकामा ७० हजार सार्वजनिक सवारीसाधन गुड्ने गर्छन् । एउटा गाडीले दिनमा ४ सय ५० रुपैयाँ बढी भाडा लिइरहेको देखिन्छ । उपत्यकामा यात्रुबाट हरेक दिन कम्तिमा ३ करोड १५ लाख रुपैयाँ ठगी भइरहेको छ ।
सीआईएनसँगको कुराकानीमा यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जनशक्ति कम भएका कारण प्रभावकारी रुपमा अनुगमन हुन नसकेको स्वीकार गर्नुभयो । ‘यातायात निरिक्षकको व्यवस्था नभएका कारण पनि प्रभावकारी अनुगमनमा समस्या छ ।’ प्रवक्ता उपाध्यायले भन्नुभयो ।
यात्रुलाई एक रुपैयाँ ठगे मात्रै पनि कारवाही हुने कानुनी व्यवस्था छ । ट्राफिक प्रहरी प्रवक्ता राजकुमार लम्सालका अनुसार त्यसका लागि नजिकको ट्राफिक प्रहरीलाई यात्रुले खबर गर्नुपर्छ । ‘यात्रुले आफू ठगीएको कुरा सडकमा भएका ट्राफिक प्रहरीलाई भने पनि हुन्छ या १०३ नम्बरमा फोन गरेर जानकारी गराए पनि हुन्छ ।
’सीआईएनसँग कुरा गर्दै प्रवक्ता लम्सालले उल्लेख गर्नुभयो । भएको कानुन कार्यान्वयनका लागि यात्रुमा उजुरी गर्ने बानीको विकास हुनुपर्ने सरोकारवाला निकायको भनाइ छ । देशभरी २१.५ प्रतिशत कच्ची सडक छ । ७५ प्रतिशत सडक सञ्जाल अझैँ धुले छ ।
ती गाउँ गाउँमा कुद्ने गाडीहरूले पनि भाडामा यात्रुहरूलाई ठगी गरिरहेका छन् । एक रुपैयाँ मात्रै पनि बढी भाडा असुल्ने सवारीसाधनलाई तत्काल पाँच हजार रुपैयाँ जरिवाना हुन्छ । उपभोक्ता संरक्षण ऐन अनुसार ठगी गर्नेलाई ५ वर्ष जेल सजाय र क्षतिपूर्तिसहितको जरिवानाको व्यवस्था छ ।
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५, ०७:२५